“त्यो कहालीलाग्दो भिर त काटिएछ नि !”
चिउरीका रुखमुनि बसेर आसियाले सुनाइन् । छेउमै बसेका प्रशान्त भन्दै थिए, “त्यो भिर काट्न मात्रै ९ लाख लाग्यो, ज्यानमारा भिर त बिदा भयो अब ।”
“गाउँ फेरिएछ, बिजुलीका पोलमा इन्टरनेटका तारहरू पनि तुन्द्रुङ्ग झुन्डिएको देख्न पाइयो, पहिला आफन्तलाई फोन गर्न भण्डारा र लोथर जाँदा त्यही भिरमा लडेर मरिएला भन्ने डर हुन्थ्यो ।”
“त्यही त त्यो भिरमा लडेर मर्न बन्द भएर के गर्नु, कहिलेकहीँ यही पोलमा मान्छे पनि झुन्डिन थाले दिदी,” प्रशान्तले सुनायो, “चार वटा बच्चाकी आमाले छाडेपछि लखपति चेपाङ काका त्यही पोलमा झुन्डिएर इहलीला अन्त्य गरे, बच्चाहरूको बिचल्ली छ ।”
“के गर्ने त प्रशान्त, नाम मात्रै लखपति । गाउँका डाँडा भासिने गरी १८ चक्के ट्रिपर हिँडे पनि गाउँमै बस्नेको दिन आएन, हुँदाहुँदा माथिको खानी पनि सिमेन्ट उद्योगले काटेर सकाउनै लागेछ,” आसियाले भनिन्, “ती बच्चाहरू कहाँ छन् त ?”
“एउटालाई बाल सङ्गठनले लग्यो, धर्मपुत्र भनेर अमेरिका पठायो रे,” प्रशान्तले सुनायो, “एउटा लोथरमा भाँडा माझेर बसेको छ, एउटा नेताले भनिदिएपछि एसएओसमा पढ्छ्, एउटा चैँ गलैँचामा छ क्यारे । गणतन्त्र आए पनि गाउँका चेपाङलाई हिमाञ्चलको हिउँ, मनाङको भिर र गलैँचाको तानले छाडेन ।”
प्रशान्त ओरालो लाग्यो । सुनाए, “दिदी म त हिँडे है, आज लघुवित्तको भेला छ, लघुवित्तले त्यहाँ पनि मर्नु पारेको छ सदस्यहरूलाई, कतिका त बुढालाई थाहा रहेनछ ऋण लिएको । कसरी तिर्ने हो, यसपालि चिउरी पनि राम्रो फुलेको छैन, अरू को–को फेरि पासो लगाउने भए पोलमा कि त्यही चिउरीका बोटमा ।”
धेरै वर्षपछि आसिया गाउँ पुगेकी हुन् । आसामाया चेपाङ हो खास नाम । छोराको आसामा आमाले पाएकी सातौँ छोरी । त्यही भएर नामै आसमाया । गाउँमा बुनेका डोकानाम्ला लोथर बजारसम्म बोकेर ल्याउँथे बाबु होक्ले चेपाङ । गाउँमा सानैमा विवाह, घरभरि सन्तान, खान नपुग्ने खोरिया बारी, त्यही पनि पानी नपरेर जेठको अन्तिममा रोपेको मकैले भदौमा न्वागी मनाउन पनि नपुग्ने । तर छोराका आसामा सन्तानको जन्म चलिरहने ।
चिउरी बगैँचामा ढुङ्गामाथि बसेर उग्राइन् आसामाया । अनायासै याद आयो कोइला चेपाङको । “कहाँ होला मुर्दार, भेट्न पाए क्वाइँक्वाइँ भुतलेर कपाल नास गर्न हुन्थ्यो,” मनमनै उग्र भइन् आसिया । सोचिन्, “गाउँका टाठाबाठाले चिमोटेको मुनाहरूको श्राप यस्ता पापीहरूलाई किन नलागेको होला ? त्यही लोथर जाने खोलाको कान्लेभिरमा चिप्लिएर मरे हुने नि यस्ता समाज सेवाका नाममा चटारिने पातकीहरू ।”
गाउँमा सलाइ पुगिसकेको थिएन । आगो पनि माग्ने बेला थियो । माथ्लाघरबाट कोइला लिएर आउँदाआउँदै कोदोबारीमा ढलिन् आमा । अलिअलि कोदो मडारियो । कहाँ पाउनु सुँडेनी, कहाँ हुनु स्याहार । आगोको कोइला कता खस्यो । काखमा छोरो च्याप्दै रगत बगाउँदै आइपुगिन् खिनौरी । त्यही भएर छोराको नाम राखियो कोइला ।
कोइला र आसामाया सँगसँगै हुर्किए, रनवन डुले । कहिले एउटै थालको खोले पिएर बाँचे, कहिले एउटै गिट्ठा खाएर हाँसे । कहिले वनमा एउटा धयरोको फूल चुसेर भोक मेटाइयो, कहिले भण्डारा र लोथर बजार पुगेर एक पुरिया मिठो बिस्कुट खाएर बजार पनि हेरियो–स्वाद पनि फेरियो ।
उमेर बढ्दै गयो, जिम्मेवारी थपिँदै गयो । दुवै समाज बुझ्ने भए । समाजसँगै आफूमा बढिरहेको परिवर्तन बुझ्ने भए । गाउँको स्कुलमा चारसम्म सँगै पढे । त्यसपछि पढाइ पनि सकियो । एक दिन लोथर आउँदै गर्दा चिप्लिएर ढुङ्गामा बजारिन पुगिन् आसामाया । ढाड नै भाँचिए जस्तो भयो । यही बाटोमा बर्सेनि थुप्रै गाउँले बजारिएका छन् । सबैभन्दा बढी त आसामायाकै बाउ होक्ले बजारिएको छ । चिप्लियो भन्ने थाहा हुँदासम्म तल पुगिसक्छ ज्यान, बाबियो र घाँस पनि समात्न भ्याइन्न । होक्ले भारीसहित पछारिँदा पहिला ढुङ्गामा भारी परेर बाँचेका हुन्, भारीले चेप्नु र ढुङ्गामा छाती बजारिनु भएको भए उहिले परमधाम भइसक्थे ।
आसामाया पनि त्यही भिरमा चिप्लिइन्, बाबु त्यहीँ चिप्लिन्थे, हजुरबाबुले चैँ त्यो भिरमा चार हात पाउ गरेर हिँड्न सक्ने गरी ढुङ्गा खोपेका रे । भिरको डरले घुम्दा दुई घण्टा लाग्ने भएर एउटा कान्लोमा ज्यान हत्केलामा राखेर थाहा पाएसम्म चार पुस्ता हिँडिरहेको छ । लडेर हर खुस्किएका, मरेकाहरूको पनि बेलाबखत कथा सुनाउँथिन् आसामायाकी आमा । तर के गर्ने, दुई घण्टा जङ्गलको डरलाग्दो बाटोभन्दा त्यही कान्लो प्यारो भइरहेको थियो । एक मिनेट बाँचे त बाटो छोटियो, चाँडै घर र बजार पुगियो । त्यो भिर यसपालि डोजर लगाएर वडाको बजेटले काटिएछ तर आसामायाका दुःख कहाँ काटिए र !
“ओइ, के गरेको, मरिस् कि क्या हो ?” हल न चल भएर ढुङ्गामा बजारिएकी आसामायालाई उठाए कोइलाले । भिरमा लतारिएर तल पुग्दा उनका स्कुले पुरानो फ्रक सोहोरिएका थिए । गम्लङ्ग अँगालो हालेर कोइलाले फ्रक तल सारिदिए । ज्यान दुःखिरहेका बेला कोइलाले फ्रक तल सार्दा आसामायालाई लाज पनि लाग्यो, अलिअलि काउकुती पनि । त्यही दिन फ्रकभित्र केही लगाएकी रहिनछे । कोइलाले ज्यान सुम्सुम्यायो, कहाँ ठोकियो भन्दै मालिस गरिदिए । हात समातेर उकालो चढाए । बाटोमा बस्दै–बस्दै साँझ घर पुगे । आमालाई लडेको सुनाइन् । आमाले तेल लगाइदिइन्, भुसुक्कै निदाइन् ।
राति बिउझिँदा जोडले ढाड दुःखिरहेको रहेछ । निद्रा चाँडै टुट्यो । ज्यान दुख्यो । सम्झिइन् आसामायाले कोइलाले कुनै नियत नराखी फ्रक तल सारिदियो । ज्यान मालिस गर्दा पनि दायाँबायाँ गरेन । अनायासै मुसुक्क हाँसिन् अँध्यारोमै । कता कता आसामायालाई कोइलाप्रति सम्मान जाग्यो, माया लाग्यो । के के सोच्दैथिइन् । फेरि निदाइन् । मध्यराति कोइलालाई सम्झिइन् । मायाको अङ्कुरायो कलिलो उमेरमा ।
“तिमी किन एक्लै टोलाइरहेको ?” चिउरीका बोटमुनि बसिरहेकी आसामायालाई कोइलाले भने । आसामाया झसङ्ग भइन् । कात्तिकको स्याँठ । लोथर खोलाको स्याँठले माथि डाँडैसम्म हान्थ्यो । चिउरी भर्खर फुल्न थालेका थिए । चिउरी फुलेर फल्दा र खाने बेला हुँदा गर्मी हपहपी हुन्छ गाउँमा । अग्ला मकैका ढोडहरूले छेकिन्छन् मान्छे । असारमा चिउरी खान पाइन्छ, बियाँ बचेर लोथर, भण्डाराबाट कपडा पनि ल्याइदिन्छन् बाबाले । नयाँ कपडा लगाउन पनि चिउरी पाक्नुपर्छ । सिलिङ्गेमा चिउरीका बोटमुनि उग्राइरहेकी आसामायाले गम्लङ्ग अँगालो हालिन् कोइलालाई । कोइला अक्कबक्क भयो । “कसैले देख्ला,” कोइला छुट्टिन खोज्यो ।
“तिमी हामी जाऊँ हिँड भागेर
सोझो बाटो मलेखु ताकेर ।”
कोइलाले काठमाडौँ गएर गलैँचा बुन्ने, उतै बस्ने भन्दै मायाजालमा फसेकी आसामायालाई गाउँ छाड्ने बनाए । के छ गाउँमा, उही कहिले मकै सुत्ला च्याप्ला र पेटमा खोले पर्ला भनेर अलिनो जिन्दगी । कति चपाउने तितो गिट्ठा र भ्याकुर ? कति दिन बासी ढिँडोले धान्ने जोवन । “बल छ, समय छ, माया छ, साथ छ, जाऊँ काठमाडौँ,” कोइलाले आसामायालाई पगाल्दै लग्यो ।
उनीहरू गाउँ छाड्ने भए । आसामाया तयार भइन् । गलैँचाका तानले औँला छिन्ला जस्ता भएका थिए । काम सिक्दै एउटा अँध्यारो घर र कोठामा कोइलासँग खुसी थिइन् आसामाया ।
“आज खाना बनाउनु पर्दैन है बुढालाई, गाउँ गएको रे, एक हप्तामा आउँछन् रे, हतारमा तिम्लाई भन्नै भ्याएनन् रे,” छिमेकीले साँझ गलैँचाबाट फर्कंदा आसामायालाई सुनाइन्, “नआत्तिकन बस भनेका छन् ।” फेरि गाउँको कान्लेभिरबाट पछारिए झैँ रनाहामा परिन् आसामाया । कुर्दाकुर्दै थुप्रै हप्ता बिते । कोइला आएनन् । “तिम्रा बुढा त बाँदरझुलाबाट समातिएछन् नि,” एक दिन फेरि त्यही छिमेकीको आवाज आयो, “गर्न पनि कति सकेका ? बाँदरझुलामा बिहा गरेर पो बसेका रहेछन्, कसले फसाइदियो, गैँडामुद्दामा बुढा भरतपुर जेल गएछन् है !”
किन त्यही भिरमा बजारिँदा मरिनछु भनेर छाती पिटेर रोइन् । पेटमा पहिलो प्रेमको नासो हुँर्कंदै थियो । छटपटी त्यही छिमेकीमार्फत बाहिर पुग्यो । एउटा संस्थाले गलैँचाबाट उद्धार ग¥यो । “म यो बच्च फाल्न चाहन्छु,” कठोर हुँदै आसामायाले भनिन्, “अब कतार जान्छु ।” गाउँमा छोरीचेली विदेश पठाइदिने गिरोह ऋणसमेत दिन तयार थियो, सिडिओ कार्यालय मकवानपुरमा पासपोर्ट यिनै बनाइदिन्थे । बाबुआमालाई २० हजार रुपियाँ हातमा दिँदै एक जनाले भने, “छोरी कतार पठाउनुहोस्, सबै जिम्मा हाम्रो ।”
“जान्छौ त, त्यहाँ बेचबिखनको सिकार हौलाऊ, फेरि दुःख पाउलाऊ,” सिडिओ कार्यालयमा पत्रकार राखेर कर्मचारीले सोध्दा आसामायाले भनिन्, “जान्छु, गाउँमा टाठाबाठाको नजरमा खराब आइमाई हुनु छैन, बरु विदेशमै सहुँला दुःख, त्यहाँ कमाइ त हुन्छ ।”
आसामाया आसिया भएर मलेसिया गइन् । उनी १० वर्षको अन्तरालमा तेस्रो पटक गाउँ आएकी हुन् । गाउँमा समाज सेवा गरेर दुःख पाएकाको सेवामा सक्रिय छिन् । आङ खस्नेहरूको उपचारमा कमाइ लगाउँछिन् ।
“यसपालि पनि पार्टी फेरेर टिकट लिएछ,” चिउरीका बोटमुनि आसिया नङ टोक्दै मनमा कुरा खेलाइरहेकी थिइन् । कोइला मुद्दामा जेल परेर गाउँ फर्केको छ । अहिलेसम्म उसले आठ वटा बिहे गरेछ । १३ जना सन्तानमा कुन सन्तान कुन स्वास्नीको समेत याद छैन कोइलालाई । चिउरी फुल्दा लगाएको मायाले आसामायालाई आसिया बनायो । कान्ले भिर काटियो । तर गाउँका दुःख र आसियाका पीडा हटेनन् । सम्झन्छिन्, “त्यही मान्छे पार्टी फेरिफेरी उठेको छ, धन्न यसपालि हराएछन्, चिउरीफूल र मान्छेको एउटै भाउ र दुःख छ गाउँमा ।”
“दिदी अझै यहीँ ?” प्रशान्त उकालो चढेर फेरि आइपुग्यो, चिउरीका फूलहरू रुखमुनि झरिरहेका थिए । आसिया जुरुक्क उठी र भनिन्, “मनभरि गाउँ हेरेको नि ।” मधुपर्कबाट
मनहरी–७, मनहरी बजार, मकवानपुर