शिक्षा प्रणाली !
………………..
उसले एस्.इ.इ.पास गरेछ !
सबै विषयमा ए प्लस ल्याएछ !
खुसी लाग्यो परिणाम सुनेर
क्याबात् भनें ! –
मनमन गुनेर !
सोधें – ‘बाबू ‘ भनेर
हँ ,भन्छ !
सुन त भन्छु – केरे हँ भन्छ ।
एस .इ.इ. को फुलफर्म सोधें
हँ ?केरे -केरे भन्छ ।
दोहोर्याएँ :
थाहा छैन भन्छ ?
अङ्ग्रेजी सर को हो ? सोधें –
त्यसको नाम ? त्यसको नाम !
त्यो ‘खुइले ‘ को नाम ‘था ‘ छैन ; भन्छ
अरु गुरुहरुको पनि नाम थाह छैन । उपनाम सबैको कण्ठ छ – कागे म्याथ , नागे साइन्स ,
सुगाठुँडे नेपाली पितल भुँडे सामाजिक … … आदिआदि –
अनि सोधें –
तिम्रो पुख्यौंंली कहाँ हो ?
तिम्रो गोत्र के हो ?
हँ के रे ? था ‘ छैन ।
सोचें –
पक्का था ‘ छैन …
सरले रटाएको भए थाहा हुन्थ्यो ।
रटाएको भन्दा अरु कुरा त तिमीलाई के थाहा छ र ?
परीक्षामुखी शिक्षा थाहा छ ।
खालि नम्बरको चाह छ !
आउट अफ सेलेबस त तिमीलाई ..
तिमीलाई त –
कम्प्युटर मोवाइल फेसबुक च्याट थाहा छ !
ब्लक रिक्योस्ट अनफ्रेन्ड ह्याक थाहा छ ।
फिल्म ‘रियालिटी सो ….
गेम पब्जी फ्रि फाएर पोर्न थाहा छ ….
डाटा प्याक ब्यालेन्स आदि आदि
कण्ठ छ !
पूरा याद छ !!
तिमीलाई थाहा छैन …
सम्बोधन
अभिवादन
मान इज्जत
प्रतिष्ठा संस्कार
संस्कृति रीति रिवाज
थाहै छैन –
हजुर
सहयोग
सद्भाव
माया
स्नेह
सेवा
सुवचन
सु -संस्कृति
स्वधर्म
स्वभाषा
स्वभेष केही थाहा छैन ।
जिम्मेवारी
वफादारी
इमानदारी .. केही थाहा छैन ।
खालि बोके दारी थाहा छ !
बस् ! त्यतिमात्र ।
बाआमाको दुःख था ‘ छैन
बाआमाको व्यथा था ‘ छैन
आमा – बाको पीडा दर्द था ‘ छैन ।
भान्साको काम सून्य
खेतको काम सून्य
गोठको काम सून्य
तरकारी बारीको काम सून्य !
आफ्ना लुगा जुत्ता टाई बेल्ट मिलाउन मात्र हैन ओछ्यान आँगन केही थाहा छैन !
केबल अङ्क थाहा छ !
डिभिजन थाहा छ ।
प्रतिशत थाहा छ !
छोरा ..न गोबरको भइसक्यो ‘ अभिभावकलाई पनि खालि
नम्बरको चाह छ !
डिभिजनको चाह छ !!
प्रतिशतको चाह छ !!!
…बेतिथि … बस् यतिमात्र … थाहा छ … !! २
– गोपाल काफ्ले, सिन्धुली