मोती रत्न। कैलालीका किसानहरुले रोपाइँ सकेको खुशीयालीमा ‘हर्दहुवा’ मनाउन पनि सुरु गरि सकेका छन् । थारु समुदायमा रोपाइँ सकिएपछि खेतीपातीमा ब्यस्त रहँदाको थकान मेट्नका लागि हर्दहुवा मनाउने चलन छ ।
रोपाइँ सम्पन्न गरेको उपलक्ष्यमा कैलालीको कैलारी गाउँपालिका–२ बसौती र बेनौली गाउँका किसानले हर्दहुवा मनाएका छन् । ती दुवै गाउँमा पूर्ण रुपमा रोपाइँ सम्पन्न भएपछि गाउँभरीका किसानहरुले मिठा–मिठा परिकार खाएर हर्दहुवा मनाएका हुन ।
कैलालीमा ७१ हजार सात सय हेक्टर र कञ्चनपुरमा ४७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ। त्यस्तै डोटीमा १० हजार ६ सय ७०, डडेलधुरामा ६ हजार एक सय ३६, अछाममा १६ हजार पाँच सय ८०, बाजुरामा तीन हजार तीन सय १०, दार्चुलामा चार हजार चार सय ८०, बैतडीमा ९ हजार र बझाङमा सात हजार एक सय १० हेक्टरमा वर्खे धान खेती हुने गरेको तथ्याङ्क कृषि निर्देशनालयसँग छ।
कैलाली र कञ्चनपुर जिल्लाको केही हेक्टर क्षेत्रफलको जग्गामा चैत महिनामा रोपाइँ गरेर ‘चैते धान खेती’ पनि गर्ने गरिन्छ। प्रदेशमा ७३ हजार ६ सय १७ हेक्टर जग्गामा वर्षभरि सिँचाइ हुने गरेकोमा ३६ हजार चार सय ८३ हेक्टर जग्गामा आंशिक सिँचाइको सुविधा रहेको तथ्याङ्क छ।
Advertisements