धनगढी, ५ भदौ । बाढीले कैलारी गाउँपालिका वडा नम्बर ५, मनिकापुर स्थित हुलाकी रोड अवरुद्ध भएको छ ।
अबिरल बर्षाको कारणले कटैनी नदीमा आएको बाढीले पुरानो मनिकापुर स्थित हुलाकी सडक अवरुद्ध भएको हो । पानीको बहाब बढ्न गई उक्त सडक खण्डको केही छेउमा भत्किएको र पानीको सतह सडक माथि आएको बिओपि खोनपुरका सहायक प्रहरी नायव उपरिक्षक गान्धीप राज स्याङताङले जानकारी दिए ।
सडक पुर्ण रुपमा अवरुद्ध भएर सवारी साधन समेत जाममा रहेको, उक्त स्थानमा बिओपि खोनपुरका सप्रनाउ स्याङताङको कमाण्डमा ११ जना र इप्रका हसुलियाका प्रबनानि लोकेन्द्र बहादुर चन्दको कमाण्डमा ७ जनाको टोली खटिएका छ ।
बाढीले पुरानो मनिकापुर बस्तीको २४ घर डुबानमा परेको प्रहरीले जनाएको छ । डुबान परेको बस्तीबट १२६ जना मध्ये १९ घरधुरीका ११६ जना आफ्नै घरको माथिल्लो तला र आफन्तको घरमा सुरक्षित साथ बसेका र ५ घरधुरीका १० जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।
सुरक्षित स्थानमा ४० वर्षिया आसि देवी चौधरी, ५० बर्षिया समली चौधरी, ५५ वर्षिया सितल देवी चौधरी, ६८ वर्षिय सन्तराम चौधरी, ७० वर्षिय टीकाराम चौधरी, ५१ वर्षिया रामजशनी चौधरी, ९ बर्षिय रुनम चौधरी, १० वर्षिय साहिल चौधरी, ७० वर्षिय सुरनी चौधरी र ७१ वर्षिय कोल्ला चौधरीलाई स्थानान्तरण गरि वडा नम्बर ५ को वडा कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।