धनगढी, ५ भदौ । कैलालीमा भारी वर्षाका कारण विभिन्न नदीनालामा आएको बाढीले बस्ती डुबान गरेको छ ।
जिल्लाको विभिन्न पालिकामा बाढीले डुबान गरेको हो । गएराति यहाँ भारी वर्षा भएको थियो । वर्षाका कारण कटैनी नदीमा आएको बाढीले कैलारी गाउँपालिकामा ७२ घर डुबानमा परेको छ ।
गाउँपालिकाको कार्यालयले दिएको जानकारी अनुसार वडा नम्बर ५ स्थित मनिकापुरमा ३६ घर, वडा नम्बर ७ स्थित छटकपुर बसन्तामा २५ घर र वडा नम्बर ८ स्थित भंगहामा ११ घर डुबानमा परेको छ । डुबान भएको गाउँमा उद्धारका लागि सुरक्षाकर्मी, रेडक्रसका प्रतिनिधि, जनप्रतिनिधि लगायतका व्यक्ति खटेका विपत् व्यवस्थापन शाखाका प्रमुख भुवन बखरियाले जानकारी दिए ।
यस्तै, कान्द्रा नदीमा आएको बाढीले भजनी नगरपालिकाको विभिन्न क्षेत्रमा डुबान गरेको छ ।
जिल्लाको घोडाघोडी नगरपालिका–५ सेउकलिया, वडा नम्बर ९ रत्तिपुर, गौरीगंगा नगरपालिका–७ र कैलारीमा डुबान भएको खबर आएको जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाका नरेन्द्र बोहराले जानकारी दिए । उनले घरमा पानी पसे पनि मान्छे विस्थापित नभएको बताए ।