धनगढी । पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तथा बंगालको खाडी र अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले नेपालमा मौसम बदली र वर्षा हुने क्रम जारी छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति देशका पहाडी भूभागका थोरै र तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपात हुने सम्भावना छ।
यसैगरी सोमबार दिउँसो कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपात हुने सम्भावना रहेको मौसम महाशाखाले आइतबार साँझ जानकारी गराएको छ।
मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।
यस्तै केही स्थानमा वर्षा भन्नाले सम्बन्धित भूभागको ५० प्रतिशत, थोरै स्थान भन्नाले २५ देखि ३० प्रतिशत र एक-दुई स्थान भन्नाले २५ प्रतिशतभन्दा कम ठाउँमा वर्षा हुन्छ भनेर बुझ्न सकिने मौसमविद् बताउँछन्।