काठमाडौं । देशका धेरै स्थानमा शुक्रबार (चैत ६) वर्षा भएको छ । पश्चिमदेखि पूर्वी भूभागसम्मै पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले यसअघि नै शुक्रबार र शनिबार (चैत ७) काठमाडौंसहित देशका धेरै स्थानमा वर्षाको पूर्वानुमान गरेको थियो । केही स्थानमा ‘भारी’ वर्षाको पनि पूर्वानुमान छ ।
शुक्रबार विभागले चैत ६ देखि १२ गतेसम्मको मौसम पूर्वानुमान गरेको छ ।
“(तराई क्षेत्र) आज शुक्रबार र भोलि शनिबार देशका धेरै ठाउँहरूमा हावाहुरी, मेघगर्जन/चट्याङ र असिनासहित हल्कादेखि मध्यम पानी पर्ने सम्भावना छ,” विभागका मौसमविद् डेभिड ढकालले भने, “यी दुई दिनमा कोसी, मधेस, वाग्मती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा भने भारी पानी पर्ने सम्भावना रहेको छ ।”
पहाडी क्षेत्रको मौसम पूर्वानुमान
शुक्रबार र शनिबार देशको पहाडी भूभागका धेरै ठाउँमा हावाहुरी, मेघगर्जन/चट्याङ र असिनासहित ‘मध्यम’ पानी पर्ने सम्भावना छ । एक–दुई ठाउँमा भारी पानी पर्ने सम्भावना रहेको उनले जानकारी दिए ।
आउँदो आइतबारदेखि मंगलबार (चैत ८–१०)भित्र पहाडी क्षेत्रका थोरै ठाउँमा हावाहुरी, मेघगर्जन/चट्याङ र असिनासहित मध्यम पानी पर्ने सम्भावना छ । “बुधबार र बिहीबार (चैत ११–१२) भने कोसी र गण्डकी प्रदेशका थोरै ठाउँमा मात्रै यस्तो सम्भावना छ,” उनले भने ।
हिमाली क्षेत्रको मौसम पूर्वानुमान
दुई दिन (चैत ६–७) सबै प्रदेशका हिमाली क्षेत्रका धेरै ठाउँमा मध्यम हिउँ वा पानी पर्ने सम्भावना छ । एक–दुई ठाउँमा हावाहुरी, मेघगर्जन/चट्याङ र असिना पनि पर्ने सम्भावना रहेको मौसमविद् ढकालले बताए । उनले भने, “अनि, एक–दुई ठाउँमा भने भारी हिउँ वा पानी पर्ने सम्भावना छ ।”
आइतबारदेखि मंगलबारभित्र हिमाली क्षेत्रका थोरै ठाउँमा मध्यम हिउँ वा पानी पर्ने सम्भावना छ । बुधबार र बिहीबार कोसी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका थोरै ठाउँमा मात्र यस्तो सम्भावना रहेको उनले बताए । “एक–दुई ठाउँमा हिउँ वा पानी पर्दा हावाहुरी, मेघगर्जन/चट्याङ र असिना पनि पर्ने देखिन्छ,” उनले भने ।
मौसम छिनछिनमै परिवर्तन भइरहेको हुन्छ । त्यसैले मौसमबारे विभागको आधिकारिक र पछिल्लो जानकारी लिन उनले आग्रह समेत गरेका छन् ।