धनगढी । हवाई भाडा धेरै बढेको छ।
इन्धनको मूल्य दोब्बर भएपछि भाडा बढेको हो।
काठमाडौं–धनगढीको अधिकतम भाडा करिब २३ हजार पुगेको छ। न्यूनतम भाडा करिब १४ हजार छ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार भाडादरमा इन्धनको मूल्य (फ्युल सर्चाज) मात्र बढेको हो । यसअघि धनगढीका लागि भाडामा इन्धनको मूल्य ५ हजार ६ सय १० तोकिएको थियो ।
तर, नेपाल आयल निगमले मंगलबार आन्तरिक हवाई इन्धनको मूल्य लिटरमा १ सय २५ बाट बढाएर २ सय ५१ रुपैयाँ पुर्याएको थियो ।
यससँगै धनगढी रुटको भाडामा इन्धनको मूल्य ११ हजार ९० रुपैयाँ पुगेको छ । अब धनगढीको न्यूनतम भाडादर १४ हजार ४ सय ५७ कायम भएको छ ।
भाडादरमा इन्धनको मूल्यबाहेक वायुसेवा कम्पनीले लिने भाडा, १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र विमानस्थल शुल्क थप हुन्छ ।
वायुसेवा सञ्चालक संघका अनुसार नयाँ भाडादर कार्यान्वयनमा आइसकेको छ । वायुसेवा कम्पनीका अनुसार बढेको डलरको मूल्य र इन्धन मूल्यका कारण हवाई सेवा व्यवस्थापन निकै चुनौतीपूर्ण अवस्थामा पुगेको बताएका छन् ।
काठमाडौं-माउन्टेन रुटको भाडा अब अधिकतम १८ हजार २६ र न्यूनतम ११ हजार ३ सय ४२ पुगेको छ । काठमाडौं-भद्रपुर न्यूनतम ९ हजार ९८९.२ रुपैयाँ र अधिकतम १५ हजार ८ सय ३७ पुगेको छ ।
त्यस्तै काठमाडौं-विराटनगरको न्यूनतम ८ हजार ८८.९ रुपैयाँ र अधिकतम १२ हजार ७ सय ६५, काठमाडौं-जनकपुर न्यूनतम ५ हजार ५ सय ६५ र अधिकतम ७ हजार ७० कायम भएको छ । काठमाडौं-पोखरा रुटको न्यूनतम ५ हजार १५ र अधिकतम ८ हजार ६ सय ५ कायम भएको प्राधिकरणले जनाएको छ ।
यसैगरी काठमाडौं-भैरहवा रुटको न्यूनतम ७ हजार ६ रुपैयाँ र अधिकतम ११ हजार १६ पुगेको छ । काठमाडौं-नेपालगन्ज भाडा न्यूनतम १० हजार ८ सय र अधिकतम १७ हजार १ सय ४८ पुगेको छ ।
काठमाडौं-तुम्लिङटार न्यूनतम ६ हजार ३ सय २७ र अधिकतम ९ हजार ९ सय २० पुगेको छ । सिमरा-धनगढी रुटको भाडा २६ हजार ३ सय ६ पुगेको छ । जसमा इन्धन शुल्क १२ हजार ७ सय ३५ पुगेको छ ।