cbaf7516d0f091730c819980aa3cd000

धनगढी,२९ चैत । पछिल्लो समय युवापुस्तामा लोकपृय बनेको टिकटक एप सुदूरपश्चिममा पनि ज्यानमारा बन्न पुगेको छ । शनिवार कैलालीको लम्कीचुहा नगरपालिका– २ का १८ बर्षीय सञ्जय खड्का टिकट बनाउन कर्णाली पुल पुगे । उनीसंगै थिए कक्षा १० मा पढ्ने ८ जना युवा । टिकटकमा भाइरल हुन १७ बर्षीय बिरेन्द्र सिंह, १८ बर्षीय लोकेश प्याकुरेल र खड्काले कर्णाली पुलबाट नदीमा हाम फाले । खड्का आइतबार दिउसोसम्म पनि बेपत्ता छन् । प्याकुरेल घाइते भएर नेपालगञ्जमा उपचार गराइरहेका छन् भने सिंह सकुशल छन् ।

इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार ज्यान जोखिममा राखेर अहिले टिकटकमा भाइरल हुन कर्णालीको पुलबाट नदीमा युवाहरु हाम फाल्ने गरेका छन् । कार्यालयका प्रमुख तथा प्रहरी निरिक्षक दीर्घबहादुर बोगटीले भने, ‘प्रहरीले दैनिक रुपमा युवाहरुलाई सम्झाउँदै आएको छ । तर अटेरी गर्दै युवाहरुले ज्यान नै जोखिममा राखेर पुलबाट कर्णालीमा हाम फाल्ने गरेका छन् ।’ ‘चिसापानी क्षेत्रका स्थानीय युवाहरुले यसअघि पनि पटकपटक कर्णाली नदिमा टिकटकमा भाइरल हुनकै लागि हाम फालेको जानकारी आउथ्यो,’ प्रहरी निरिक्षक बोगटीले भने, ‘शनिवार पनि देखासिकीमा मै युवाहरुले हाम फालेका रहेछन् ।’

प्रहरी निरिक्षक बोगटीका अनुसार सार्वजनिक विदाको दिन सयौँको संख्यामा युवाहरु टिकटक बनाउन कर्णाली पुलमा पुग्ने गरेका छन् । उनले अगाडि भने, ‘पुलमा पनि ड्युटीमा प्रहरी कर्मचारी हुन्छन् । तर प्रहरीलाई पनि झुक्याएर कर्णालीमा युवाहरुले हाम फाल्ने गरेका छन् ।’ यसअघि पनि कर्णालीको पुलबाट नदिमा हाम फालेको भिडिओ टिकटकमा भाइरल नै भएको थियो । 

मनोरञ्जनका लागि बनाइने टिकटकले यसअघि पनि व्यक्तिको ज्यान लिएको थियो । माघ अन्तिम साता कञ्चनपुरकी १३ वर्षीया करुणा चन्दको टिकटक बनाउने क्रममै मृत्यु भएको थियो । टिकटकमा केही नयाँ प्रयोग गर्ने सोचले स्टुल चढेर पंखामा डोरी बाधेकी चन्दको पंखामा झुण्डिएर मुत्यु भएको थियो ।  

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ