धनगढी, १६ मंसिर । दक्षिण अफ्रिकालगायत विभिन्न देशमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को खतरा बढेकाले सुदूरपश्चिम प्रदेशमा पनि उच्च सतर्कता अपनाइएको छ ।
भारतसँग सीमा जोडिएको नाकामा कडाइ गर्न थालिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । भारतमा ओमिक्रोनको सङ्क्रमण फैलिए सबैभन्दा बढी जोखिममा सुदूरपश्चिम पर्ने भएकाले सीमा नाकामा कडाइका साथ स्वास्थ्य जाँच गर्न थालिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताए ।
सुदूरपश्चिमका भारतसँग सीमा जोडिएका मुख्य नाका गड्डाचौकी, त्रिनगर, झुलाघाट, पुलघाटलगायत नाकामा उच्च सतर्कता अपनाइएको हो । यी नाकाबाट आवागमन बढी हुने गरेको छ । पहिलो चरणको कोरोना सङ्क्रमण फैलिँदा परीक्षणको दायरा बढाइएको र दोस्रो चरणमा अक्सिजन आपूर्ति गरिएकाले अब यो नया भेरियन्टले कस्तो रुप लिन्छ त्यहीअनुसार थप तयारी गरिने उनको भनाइ थियो ।
सुदूरपश्चिममा पूर्णरुपमा खोप लगाउने कार्यसमेत सम्पन्न नभएका कारण झनै सङ्क्रमण फैलिने खतरा बढेको बताइन्छ ।स्वास्थ्य सुरक्षाका मापदण्ड पनि पूरा गर्न बेवास्ता भइरहेका बेला ओमिक्रोनको सङ्क्रमण फैलिए नियन्त्रण गर्न थप समस्या हुुने भएको छ । सरकारकातर्फबाट खोप आपूर्तिमा कमी नभएकाले सबैलाई पूर्ण खोप लगाउनसमेत आग्रह गरिएको छ ।