धनगढीः पछिल्लो एक वर्षमा विद्युत चुहावट करिब ३ प्रतिशतले घटेको छ। नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार २०७७ कात्तिकसम्म १२.०१ प्रतिशतको विद्युत चुहावट रहेकोमा २०७८ कात्तिकसम्ममा ९.२४ प्रतिशतमा झरेको छ। विद्युत् प्राधिकरणका सातैवटा प्रादेशिक तथा डिभिजन कार्यालयले चुहावट घटाएको देखिएको छ। यद्यपि सुदूरपश्चिम प्रदेशले गत वर्षको चुहावटको हिसाबले आधा घटाएको देखिएको छ। चुहावट धेरै घटाउनेमा प्रदेश १ को कार्यालय पनि रहेको छ। गत वर्षसम्म प्रदेश १ बाट १७.८५ प्रतिशत चुहावट भएकोमा अहिले भने १०.५२ प्रतिशतमा झारेको छ। चालू वर्षको पहिलो चार महिनामै लक्ष्यभन्दा कम चुहावट रहेकाले आवको बाँकी अवधिमा लक्ष्य पूरा हुने देखिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। आर्थिक वर्ष २०७२/७३ मा २५.७८ प्रतिशत विद्युत चुहावटलाई घटाएर प्राधिकरणले आव २०७६/७७मा १५.२५प्रतिशतमा झारेको थियो। तर, आव २०७७/७८मा चुहावट १.९१ प्रतिशत विन्दुले बढेर १७.१८ प्रतिशत पुगेको थियो।