मोती रत्न। देशभरमै तालतलैया बढी भएको जिल्लामध्ये कैलाली पर्छ । यहाँ दर्जनौँ प्राकृतिक ताल छन् । वन क्षेत्रमा रहेका तालहरु जैविक र प्राकृतिक तालहरु महत्वपूर्ण छन् । विश्व रामसार सुचीमा सुचीकृत घोडाघोडी ताल पनि यहीँ पर्छ । कैलालीमा डेढ सयभन्दा बढी तालतलैया रहेको तथ्यांक छ ।
कैलालीमा पर्ने बसन्ता जैविक मार्ग अन्तर्राष्ट्रिय महत्वको जैविक मार्ग हो । त्यसैले यसभित्र रहेका तालहरु जैविक विविधताले महत्वपूर्ण मानिन्छन् । यसमध्ये कैलारीगाउँपालिका वार्ड न. ५ मा पर्ने रखौना ताल हो । यसको प्रचार-प्रसारको अभावमा गुमनाम रहेको छ। यो पर्यटकिय क्षेत्रको रुपमा गरी बिस्तार गर्न सके यसको संरक्षण संगे आर्थिक लाभ लिन सकिन्थ्यो । साथै वरीपरिका गाउँ बस्तीको पनि केही हदसम्म बिकाश गर्न सकिन्थ्यो । यो ताल बन्यजन्तुलाई पानी पिउनमात्र नभइ जैविक विविधताले भरिपूर्ण बसन्ता संरक्षित क्षेत्रभित्र पर्दछ ।
यो तालमा नजिकका वार्ड न. ५, ७ का बिभिन्न समूहका मानिसहरु पिकनिक मनाउन आउने गरेका छन । सो ताललाई माछापालनको लागी ठेक्का दिएको छ। माछालाई चारा खुवाउन उनले काठको डुङ्गा हालेका छन। त्यसैमा शयर गर्नेहरुको कहिलेकाही घुईचो हुने गरेको स्थानीय पत्रकार प्रबीन बौखहीले जानकारी गराउनु भयो। उहाँले अगाडी थप्नुभयो, “कोरोना कहरको समयमा मलाई यसमा आएर समय बिताउने, प्राकृतिक सौन्दार्यलाई नियाल्दै बाँच्ने हौसला प्रदान गर्यो। कहरको समयमा बाँच्न सिकायो, हाँस्न सिकायो। यसको दोहन मात्र हुंदा मन दुखेर आउँछ।”
अर्का स्थानीय गणेश चौधरीले यस रखौना ताललाई संरक्षण गर्न सके वार्ड न. ५ र ७ लाई कृषिको सिचाइको लागी पनि प्रयोग गर्न सकिने कुरामा जोड़ दिनुभयो। “यसमा कम्तिमा ४/५ ओता मात्र डुङ्गा हाल्न सके स्थानिय पर्यटकको घुईचो लाग्ने पक्का छ।” रखौना तालमा साथीहरु र छोरासहित घुम्न आएका अर्का स्थानीय राम कुमार चौधरीले भने। तर दुःखको कुरा यसको संरक्षण गर्न सम्बन्धित निकाय र सरोकारवालाको ध्यान जान सकेको छैन ।