छन्द:- पञ्चचामर
रचना :- दीनानाथ पोख्रेल
म देशको सुपुत्रमा गनिन्छु भन्छ मानव ।
कुकर्मले गिराउँछन् अयोग्य खुल्छ दानव ।।
हिमाल सौम्य टाकुरा सुशान्ति नित्य छर्दछन् ।
नदी सुधा दिई सधैँ अनन्त प्यास हर्दछ्न् ।।०१।।
गलेर हिँड्न रोकिँदा थकान मेट्छ पीपल ।
अनेक स्रोत योग्य छन् लिएँछु व्यर्थ दुर्मल ।।
म मातृभक्त वीरको सुयोग्य रक्तबीज हुँ ।
चिनाउने गरूँ उठी अकृत्यको म काल हुँ ।।०२।।
म भ्रष्टता डढाउने चिराग सम्झ देशको ।
सखाप पार्न लम्कने गरूँ म छद्म भेषको ।।
सजीव छन् गुराँसका सुरम्य फूलका मुठा ।
सुधामयी छ ओखती दिएर हाँस्दछन् बुटा।।०३।।
टपक्क टिप्छ लेखनी सुधामयी सुभावना ।
सुकर्मतर्फ लम्कँदै म मेट्छु दुष्ट वेदना ।।
विकार दुष्ट चेतको गरूँ सफा विचारले ।
हियारभित्र देश होस् छुँदैन रे विकारले ।।०४।।
पहाड ताल कन्दरा मदेस दिव्य फाँट छन् ।
सुकर्म एक हात होस् सुप्राप्ति खातखात छन्।।
तरक्क तर्कने पना म त्याग्न सक्छु ज्ञानले ।
खुलेर रम्छ जीवनी सुकर्मका मुहानले ।।०५।।
यता घुमेँ उता घुमेँ बखान बातको गरि ।
अनेक कष्ट साथमा रहे सुतेर यो घरी ।।
जमात साथमा खुली उठूँ सुकर्म पक्रँदै ।
अवश्य रम्छ चेत यो अनन्त सौख्य फक्रँदै।।०६।।
विकासका सुमार्गमा सुधार धार लाउँदै ।
बढूँ उँभो म व्योममा मिलेर देश गाउँदै ।।
सचेतना सँगै रहोस् अपार मेल भाइको।
खुलेर हेर्छ विश्वले सुमेल त्यो उचाइको ।।०७।।