कैलाली क्षेत्र नम्बर २ बाट नागरिक उन्मुक्ति पार्टीका अरूणकुमार चौधरी प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । उनले एमालेका झपटबहादुर रावललाई पराजित गरेका हुन् ।

सुरुको मतगणनामा पछि परे पनि अन्ततः अरूणले अन्तमा ५ हजार सात सय ४३ मतान्तरले जित हात पारे । अरूणले २१ हजार ८ सय ७१ मत ल्याएका छन् भने रावलले १६ हजार १ सय २८ मत ल्याएका छन् । यो क्षेत्रमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार रहेका बगतबहादुर बडुवालले १५ हजार एक सय १६ मत ल्याएका छन् ।

को हुन् अरुण चौधरी 

अरुण चौधरी कैलाली जिल्ला क्षेत्र न. २ मा पर्ने लम्कीचुहा न.पा. वडा न. ४ गिढिनिया बस्ने स्वर्गिय बुवा करिङ्गा चौधरी र आमा कल्टीदेवी चौधरीको कान्छा छोरा हुन् । उनी सानैदेखि समाज सेवामा रुचि राख्ने, अरुको सुखदुखमा सहभागी हुने, मुद्दा मामिला पर्दा सम्बन्धित ठाउँमा पुग्ने, समाज सेवामा आफ्नो समय बढी खर्चने ब्यक्ति हुन् । 

उनी  २०६४ सालदेखि हालसम्म निरन्तर थारुहरुको हक अधिकारको लागि लडिरहेका ब्यक्ति हुन् । आन्दोलनमै लागेका कारण बि.स.ं २०६९ सालमा उनका विरोधी पक्षले उनको ट्रयाक्टर समेत जलाएका थिए । ठूलो क्षति ब्यहोरे पनि तरुण अरुणको समाज सेवा र राजनीतिप्रतिको लगाव कम भएन । 

जनताका प्रतिनिधि भै ठाउँमा पुग्ने निर्णय गरे,मेयर र प्रदेश सभामा लडे, तर सफलता हात पार्न सकेनन् । दुइ चुनावमा हार ब्यहोरिसकेका अरुणले हारको ह्याट्रिक तोड्दै अन्ततः संघीय सांसद भएका छन् । 

तरुण अरुण सक्रिय युवा हुन्, उनी जोशिला र जांग्रिला युवा हुन् भनी धेरैले चिनेका छन् । तर अरुण पहाडीका ज्वाईं पनि हुन् भन्ने कुरा कमैलाई थाहा छ । उनी स्थानीय सरस्वती धामी चौधरी (सानु) सँग विबाह गरेका कारण थारुसँग मात्रै होइन, पहाडी समुदायसँग पनि उनको उत्तिकै घुलमेल, मेलमिलाप, घनिष्टता र नजिकको नाता सम्बन्ध छ । थारुका छोरा पहाडीका ज्वाईं भएका कारण पनि उनी थारु–पहाडी दुबै समुदायका लागि प्यारा छन् ।

दुइ पटकको हारको तीतो उनले तेस्रो पटकमा बल्ल मीठो फलको रुपमा पाएका छन् । 

प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका विजेतात्रय गंगाराम चौधरी, रन्जिता श्रेष्ठ चौधरी तथा अरूणकुमार चौधरी  ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ