
बैतडी, ६ पुस । बैतडीका शिक्षक धनबहादुर बिष्टको मृत्य प्रकरणमा आज पनि यातायात अवरुद्ध र पाटनका विद्यालय बन्द रहने भएका छन्। सत्यतथ्य छानबीनको माग गर्दै आज पनि थप आन्दोलन चर्किएको छ। मंगलबार गठन भएको संघर्ष समितिले बुधबार बिहानदैखि दशरथचन्द राजमार्ग अवरुद्ध गरेका छन्।
यहि पौष २ गते शनिबार पाटनमा मृत फेला परेका शिक्षक बिष्टको हत्या भएको परिवारजनले आशंका गरेका छन्। पौष १ गते एकजना शिक्षकको स्वागत भोजमा सरीक भएका भोलिपल्ट बिष्ट मृत अवस्थामा फेला परेका थिए। सुर्नया गाउँपालिका २ ग्वानी घर भएका शिक्षक बिष्ट कृष्ण मावि पाटनमा अध्यापन गराउँदै आएका थिए।
शिक्षक बिष्टको भवितब्य मृत्यु नभइ हत्या गरिएको भन्दै संघर्ष समितिले चाँडो दोषी पत्ता लगाउन आग्रह गरिरहेको छ। यस्तै पाटन नगरपालिका क्षेत्रभित्रका विद्यालय आज पनि बन्द रहने भएका छन्। संघर्ष समितिको आन्दोलनको कार्यक्रम अनुसार आज पनि विद्यालय बन्द रहने बताइएको छ। मृतकका आफन्तले अझै पनि शव बुझेका छैनन्।