Screenshot 2025-06-28 200519

धनगढीः राष्ट्रिय परीक्षा बोर्डले शुक्रवार सार्वजनिक गरेको नतिजा अनुसार यस वर्षको एसइईमा देशभर ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन्।

नियमिततर्फ परीक्षा दिएका ४ लाख ३८ हजार ८ सय ९६ विद्यार्थीमध्ये २ लाख ७१ हजार २ सय ९९ जना ग्रेडेड भएका हुन। यस वर्षको उत्तीर्ण दर गत वर्षको भन्दा १३.९४ प्रतिशतले बढेको छ । गत वर्षको एसइईमा ४७.८७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।

यस वर्ष सुदूरपश्चिमबाट ५५ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन। सुदूरपश्चिम प्रदेशबाट ५९ हजार ८०४ विद्यार्थी सहभागी भएकोमा ३२ हजार ९३० विद्यार्थी ग्रेडेड भएका हुन। परीक्षामा सहभागी २६ हजार ८७४ जना ननग्रेडेड भएका छन्।

नतिजा सुधार
सुदूरपश्चिमबाट अघिल्लो वर्ष एसइईमा सहभागी भएका ३१.८८ प्रतिशत विद्यार्थी मात्रै (ग्रेडेड) उत्तीर्ण भएका थिए। गत वर्ष सुदूरपश्चिमबाट ५३ हजार ४४६ जना विद्यार्थीले एसइई परीक्षामा सहभागि भएकोमा ३६ हजार ४१० विद्यार्थी (ननग्रेडेड) फेल भएका थिए ।

कैलालीबाट ७ जनाले ल्याए ४ जीपीए
कैलालीमा यस वर्ष एसइई परीक्षा दिएका ४० प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन्। जिल्लाबाट १८ हजार ७५१ विद्यार्थी एसइईमा सहभागी भएकोमा ७ हजार ५२३ विद्यार्थी ग्रेडेड भएका हुन। जुन कुल ग्रेडेड विद्यार्थीको ४० प्रतिशत हो।

शिक्षा तथा समन्वय इकाई कार्यालय कैलालीका अनुसार कैलालीबाट एसइई दिएका मध्ये ७ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन्। जसमध्ये १ जना सामुदायिक र ६ जना निजी विद्यालयका विद्यार्थी रहका छन्। सामुदायिक विद्यालयतर्फ धनगढी उपमहानगरपालिका–३ मा रहेको त्रिभुवन मावि बोराडाँडीका विद्यार्थी अशोक अवस्थीले ४ जीपीए ल्याएका छन्।

यस्तै ४ जीपीए ल्याउने निजी विद्यालयका विद्यार्थीमा धनगढी उपमहानगरपालिका–८ मा रहेको एरिस्टो बोर्डिङ स्कुल गौरव उपाध्याय र प्रदीप गिरी, धनगढीकै जेसीज एभरेस्ट स्कुलका जस्टिन चन्द, टीकापुरको युनाइटेड एकेडेमीका निखिल लोहार, टीकापुरकै भुवन उपाध्याय गणेश बाबा इङ्ग्लिस बोर्डिङ स्कुल र घोडाघोडीमा रहेको पायोनियर्स एकेडेमीका रक्षा बुढा रहेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ