धनगढी । कैलालीसँग जोडिएको गौरीफन्टा नाकाबाट आज बिहान २५ जना नेपाली नागरिकलाई नेपाल प्रवेश गर्न दिइएको छ। जिल्ला प्रशासन कार्यालयको समन्वयमा उनीहरूलाई भित्र्याइएको हो।
निर्वाचन सुरक्षाका कारण सोमबार राति १२ बजेदेखि नेपाल–भारत सिमा नाका बन्द गरिएको छ। तर बिरामी भएका, बिरामीको हेरचाह गर्न आएका वा घरमा आफन्तको मृत्यु भएका कारण तुरुन्तै घर फर्किनुपर्ने अवस्थामा रहेका २५ जनालाई विशेष अनुमति दिइएको हो। सशस्त्र प्रहरी बल नेपाल र भारतीय सिमा सुरक्षा बलले माथिल्लो निकायसँग समन्वय गरेर उनीहरूलाई आउन दिएका हुन्।
उनीहरूको आवश्यक कागजपत्र जाँच गरी मात्रै नेपाल प्रवेश गर्न दिइएको थियो।
जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले सिमा नाका बन्द रहेकाले अत्यावश्यक काम बाहेक भारतबाट नेपाल नआउन आग्रह गरेका छन्। फागुन २१ गते निर्वाचन हुने भएकाले २२ गते बिहानपछि मात्रै यात्रा तय गर्न अनुरोध गरिएको छ।
गौरीफन्टामा पुगेकाहरूलाई भने विशेष अवस्था हेरेर मात्रै नेपाल आउन दिइएको प्रशासनले जनाएको छ। सरकारी सूचनालाई ध्यानमा राखेर यात्रा गर्न पनि आग्रह गरिएको छ।