धनगढी । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा तयारी पूरा भएको छ। प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टका अनुसार सोमबारदेखि सबै कर्मचारी मतदानस्थलमा खटिएका छन्।
मतदान अधिकृतको टोलीले मतदानस्थलमा पुगेर निर्वाचनसम्बन्धी सूचना टाँसेका छन्। प्रदेशका नौ जिल्लामा प्रतिनिधिसभाका १६ निर्वाचन क्षेत्र छन्। ती क्षेत्रमा १७ लाख १६ हजार ६६० मतदाता रहेका छन्। प्रदेशभरि १ हजार १७६ मतदानस्थल र २ हजार १९९ मतदान केन्द्र तोकिएका छन्।
कञ्चनपुरमा पनि तयारी पूरा
कञ्चनपुर जिल्लामा पनि मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्रमा पुगिसकेका छन्। उनीहरूले निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र, मतपेटिका, छाप, मतदाता नामावली लगायतका सामग्री लिएर सम्बन्धित केन्द्रमा पुगेका हुन्।
मतदान केन्द्रमा पुगेपछि कर्मचारीहरूले केन्द्रको व्यवस्थापन, मतदान कक्ष तयारी, मतदाता सहायता डेस्क स्थापना र सुरक्षा समन्वयको काम सुरु गरेका छन्। जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी हरिशचन्द्र जोशीका अनुसार सबै केन्द्रमा सामग्री सुरक्षित रूपमा पुर्याइएको छ र शान्तिपूर्ण मतदानका लागि तयारी पूरा भएको छ।
सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिएको छ। संयुक्त र एकल गस्ती पनि सञ्चालनमा ल्याइएको छ।