FNJ-logo

धनगढी, १९ चैत । नेपाल पत्रकार महासंघ सुदूर पश्चिम प्रदेश समितिका अध्यक्षमा चार जनाले मनोनयन दर्ता गरेका छन् ।

केन्द्रमा प्रेस युनियन, प्रेस सेन्टर र माधव नेपाल निकट प्रेस चौतारीबीच भएको सहमती अनुसार सुदूर पश्चिम प्रदेश अध्यक्ष पद प्रेस युनियनको भागमा परेको थियो । तर दिनभरी पनि प्रेस युनियन भित्र अध्यक्ष पदमा सहमती जुट्न नसकेपछि युनियनका तर्फबाट योगेश रावल र मनमोहन स्वाँरले मनोनयन दर्ता गरे । नेकपा एमाले निकट प्रेस चौतारीका तर्फबाट दिल बहादुर छत्याल र कृष्ण ओलीले अध्यक्ष पदमा मनोनयन दर्ता गरेका छन् ।

उपाध्यक्षमा प्रेस युनियनका तर्फबाट योगेन्द्र बलायर र नेकपा ओली निकट प्रेस चौतारीका लक्ष्मण तिवारीले मनोनयन दर्ता गरेका छन् । युनियनका तर्फबाट उम्मेदवारी दर्ता गरेका राम धामीलाई मनोनयन फिर्ता लिन लगाएर युनियनले बलायरलाई उम्मेदवार बनाएको हो । धामीलाई कोषाध्यक्षमा मनोनयन दर्ता गर्न लगाईएको बताईएको छ ।

उपाध्यक्ष गीता चौधरी र रेणु कार्कीले उम्मेदवारी दिएकी छन् ।

त्यस्तै महासचिवमा शिवराज भट्ट, रामसिंह ठगुन्ना, मुकेश टेर्रा, नवराज भण्डारी, जी भट्टले मनोनयन दर्ता गरेका छन् । शिवराज भट्ट नेकपा एमाले(ओली) निकट प्रेस चौतारीसंग सम्बद्ध छन् । ठगुन्ना, टेर्रा र जी भट्ट माओवादी केन्द्र निकट प्रेस सेन्टरसंग आबद्ध छन् । भण्डारी भने माधव नेपाल निकट प्रेस चौतारीसंग आबद्ध छन् । 

सचिव(समावेशी) मा बल बहादुर महरा, गोकर्ण दयाल, नेकपा माधव समूह निकट प्रेस चौतारीमा आवद्ध हरी जोशी, प्रेस चौतारीबाट नरेन्द्र कार्की र प्रेस युनियनबाट प्रेम चुनाराले मनोनयन दर्ता गरेका छन् ।

दुर्गा उपाध्याय, राम धामी, नरेश बहादुर शाहीले कोषाध्यक्षमा मनोनयन दर्ता गरेका छन् ।

केन्द्रमा ओली निकट प्रेस चौतारी बाहेक बिभिन्न संगठनहरुबीच भएको सहमती अनुसार सुदूर पश्चिममा महासचिव पद माओवादी केन्द्र निकट प्रेस सेन्टरको भागमा परेको थियो । तर सोही संगठनबाट तीन जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
प्रदेश समिति सदस्यमा कालीमया चौधरी उन्नतीले पनि सदस्य पदमा मनोनयन दर्ता गरेकी छन् ।

नेकपा एमाले(ओली) निकट प्रेस चौतारीबाट अध्यक्षमा छत्याल र कृष्ण ओली, उपाध्यक्षमा लक्ष्मण तिवारी,महिला उपाध्यक्षमा रेणु कार्की (कंचनपुर), महासचिवमा शिवराज भट्ट, (कैलाली) सचिव खुला तर्फ नरेन्द्र कार्की  (दार्चुला), सचिव समावेशीमा बसन्त बिश्वकर्मा (बाजुरा), कोषाध्यक्षमा नरेश कुमार शाही (अछाम), खुला सदस्यमा जनक खड्का (बझाङ), चन्द्र थापा (अछाम), घनश्याम सागर पन्त (बैतडी), हरिसचन्द्र बाग (कंचनपुर), दीर्घ खत्री  (डोटी), दलित सदस्यमा धनबहादुर विक (कंचनपुर), अपांग÷अल्पसंख्यक सदस्यमा नहकुदेव जिसी (कैलाली), महिला सदस्यमा विमला रावल(बाजुरा), सविता विष्ट (कंचनपुर), भुबि विष्ट (बैतडी), आदिबासी/जनजाति सदस्यमा रामचन्द्र चौधरी कुस्मि (कंचनपुर) ले मनोनयन दर्ता गरेका छन् ।

प्रेस युनियन भित्र सहमती जुट्न नसक्दा निर्वाचन समितिले मनोनयन दर्ताको समय चार बजे पछि पटक पटक थपेको थियो । 
मनोनयन दर्तापछि प्रेस युनियनका कतिपय उम्मेवारहरुलाई मनोनयन फिर्ता गर्न लगाईएको थियो भने कतिपयको पद नै परिवर्तन गरिएको थियो ।
निर्वाचन समितिले मनोनयन दर्ता गर्नेहरुको अन्तिम नामावली राति नौ बजेसम्म प्रकाशन गर्न सकेको छैन । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ