kailarigapa111
Advertisements

धनगढी, २२ वैशाख । कैलालीको कैलारी गाउँपालिकास्थित-७ स्थित भुईयाँफाटा र तिघरी गाउँमा समुदायस्तरमा कोरोना फैलिएको छ ।

दुबै गाउँमा धेरै मान्छे बिरामी परेपछि आज कैलारी गाउँपालिकाको स्वास्थ्य शाखाले गाउँका १०० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको हो । धेरै समस्या भएकाहरुको मात्रै परीक्षण गर्दा परीक्षण गरिएकामध्ये ३९ प्रतिशत व्यक्तिमा संक्रमण पुष्टी भएको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

सो गाउँहरुमा समुदायमा संक्रमण फैलिएको र परीक्षणको दायरा बढाए अझ धेरै संक्रमित फेला पर्न सक्ने स्वास्थ्यकर्मी कुसुम चौधरीले जानकारी दिए । गाउँपालिकाको अरु गाउँमा पनि त्यस्तै समस्या रहेको जनाइएको छ । तर, परीक्षण गरिएको छैन । गाउँपालिकाले बैजपुरमा स्थापना गरेको आइसोलेसनमा स्वाब संकलन गर्दै आएको छ । तर, थोरै मान्छेमात्रै स्वाब दिन आउने गरेको स्वास्थ्यकर्मीले जनाएका छन । विभिन्न गाउँमा बिरामी परेकाहरु स्थानीय मेडिकलमा देखाउने गरेकाछन । उनीहरुमा भाइरल ज्वरो र टाइफाइड भन्दै मेडिकल संचालकहरुले जथाभावी एन्टिबायोटिक औषधि चलाइ दिने गरेको जनाइएको छ ।

गाउँतिर संक्रमण बढेको देखिएकोले अरु गाउँमा पनि परीक्षण गरिने गाउँपालिकाका स्वास्थ्य संयोजक वीरेन्द्र सापकोटाले बताए । रुघाखोकी, ज्वरो, टाउको दुख्ने समस्या भएका बिरामी विभिन्न गाउँमा रहेको खबर आएको उनले जनाए ।यसैबीच, बैजपुरमा रहेको आइसोलेसनमा अक्सिजन सिलिन्डर नहुदा समस्या भएको छ । अक्सिजनको व्यवस्था नभएकाकारण अक्सिजन दिनु पर्ने बिरामीलाई धनगढीतिर पठाउनु पर्ने बाध्यता रहेको छ । यस्तै, एन्टिजेन कीट अभावले पनि गाउँमा परीक्षण गर्न समस्या भइरहेको जनाइएको छ । सो गाउँपालिकाले अक्सिजन र एन्टिजेन कीट सहयोगका लागि याचना गरेको छ ।

२४ घण्टामा थप २७ जना कोरोना मुक्त

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप २७ जना कोरोना मुक्त भएका छन् । स्वास्थ्य निर्देशनालय डोटीको तथ्यांकअनुसार मंगलबार प्रदेशका बिभिन्न जिल्लाका २७ जना कोरोना जितेर घर फर्किएको जनाएको छ ।

यस्तै प्रदेशमा ६९९ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशमा पीसीआर र एन्टिजेन विधिबाट एक हजार ९ सय ४४ जनाको परीक्षण गर्दा ६९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।एन्टिजेन विधिबाट एक हजार २ जनाको परीक्षण गर्दा २५३ जना र पीसीआर विधिबाट ९४२ जनाको परीक्षण गर्दा ४४६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै २४ घण्टामा थप ८ जनाको कोरोना कारण मृत्यु भएको छ । सुदूरपश्चिममा हालसम्म १३४ जना संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ