shekhar dahit

जलवायु दीर्घकालीन मौसम हो, जुन हामीले सामान्यतया यस ग्रहमा बाँच्ने सबै जीवजगत, चराचर, पशुपन्छी, भीमकाय जनावरदेखि सूक्ष्म जीव, परजीवीले समेत अनुभव गरिरहेका हुन्छन् ।

यस ग्रहमा बाँच्नका लागि सबै जीवित प्राणीलाई एक विशिष्ट जलवायुको आवश्यकता पर्दछ । तर सन् १८०० को दशकदेखि जब औद्योगिक क्रान्ति सुरु भयो, यस ग्रहमा पहिलेभन्दा धेरै गुणा छिटो तापक्रम बढ्न थाल्यो । औद्योगिक क्रान्तिले गर्दा हरितगृह ग्यासको उत्सर्जन ह्वात्तै बढेर गयो । कार्बनडाइअक्साइड, मिथेन लगायत अन्य हानिकारक ग्यास वायुमण्डलमा हावा जस्तै अदृष्य तह भई जम्मा हुन थाल्यो ।

अन्तरिक्षमा फर्कन नपाई यस ग्रहको तापमानलाई न्यानो पार्दै गयो । फलस्वरूप जलवायु परिवर्तनको चरम उत्कर्षको परिणाम तथा प्रतिकुल असर यस ग्रहमा पर्दै गयो । फलस्वरूप अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि, अनियमित वर्षा, मौसमी ढाँचामा परिवर्तन, किराका सङ्क्रमण, सुख्खा, खडेरी, बाढी पहिरो, भूक्षय, शीतलहर, अधिक गर्मी जस्ता प्राकृतिक प्रकोपबाट जलचर, थलचर लगायत वायुमा बस्ने प्राणीलाई प्रतिकुल असर पारिरहेको छ । तापमान वृद्धिसँगै हिमनदी, हिमताल, हिमपर्वतहरू तीव्र गतिमा पग्लिँदै छन्, जसले गर्दा महासागरको सतह पनि बढ्दै गएको छ ।

सिङ्गो देशलाई पाल्ने किसानका लागि कहिल्यै पनि कृषि नीति तथा कार्यक्रमहरूमा उचित बजेट विनियोजन गरेको देखिएन । किसानहरूलाई कृषि व्यवसाय गर्न प्रोत्साहन गर्न सकेको छैन ।

हालैको ग्लोबल कार्बन प्रोजेक्टको डेटा हेर्ने हो भने सबैभन्दा बढी कार्बनडाइअक्साइड ग्यास उत्पादन गर्ने देशहरूमध्ये चीन पहिलो स्थानमा पर्छ, जसले एक वर्षको अवधिमा लगभग १०.०६ अर्ब मेट्रिक टन उत्पादन गर्छ ।

त्यसैगरी बढी हरितगृह ग्यास उत्सर्जन गर्ने देशमा क्रमश संयुक्त राज्य अमेरिका, भारत, रुस र जापान हुन् । कार्बनडाइअक्साइड एक गन्धरहित ग्यास हो, जुन यस ग्रहमा जीवनका लागि एकदमै महत्वपूर्ण छ । यसलाई हरितगृह ग्यास पनि भनिन्छ । तर यसको अत्यधिक उत्सर्जनले प्राकृतिक विनियमलाई बाधा गर्छ, जसले गर्दा जलवायुमा प्रतिकुल असर देखिन थाल्छ ।

जलवायु परिवर्तनका विभिन्न सूचक तथा तथ्याङ्क केलाउँदा विकसित राष्ट्रहरूले नै सबैभन्दा बढी हरितगृह ग्यास उत्सर्जन गर्छन् । तर सबैभन्दा कम जोखिममा देखिन्छन् । दुर्भाग्य नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने अल्पविकसित देश प्राकृतिक प्रकोप, जलवायु परिवर्तनका असरको सधैँ उच्च जोखिममा रहन्छ ।

बर्सौँदेखि नेपालको तराईका जिल्लाहरूमा लगातार दुई–तीन दिनको वर्षाले मात्र पनि डुबानमा परिरहेको देखिन्छ । हजारौँ हेक्टर खेतबाली नोक्सान गरिरहेको छ ।

कारण– प्राकृतिक प्रकोपबाट बच्न राज्यसँग ठोस नीति छैन । प्राकृतिक प्रकोपसँगै बाँच्ने पूर्वतयारी छैन । मौसम पूर्वानुमान सूचना प्रणाली व्यवस्थित छैन । नागरिकलाई जलवायु परिवर्तनको कुनै सचेतना छैन । प्रभावकारी स्थानीय अनुकुलन योजना छैन । भौगोलिक हिसाबले आवधिक जोखिम अध्ययन छैन ।

नेपाललाई विश्वमा चिनाउन थुप्रै पर्यायवाची शब्दहरू छन् । जस्तै– सगरमाथाको देश, वनजङ्गल नदीनालाको देश, कृषिप्रधान देश, खाद्यको भण्डारको देश आदि । जसले जसरी चिनाए पनि नेपालको मूल मेरुदण्ड भनेको नै कृषि, पर्यापर्यटन आदि हो । तर दुःखका साथ भन्नुपर्दा, सरकारले यी क्षेत्रलाई कहिल्यै आफ्नो उच्च प्राथमिकतामा ल्याएको देखिँदैन । सिङ्गो देशलाई पाल्ने किसानका लागि कहिल्यै पनि कृषि नीति तथा कार्यक्रमहरूमा उचित बजेट विनियोजन गरेको देखिएन । किसानहरूलाई कृषि व्यवसाय गर्न प्रोत्साहन गर्न सकेको छैन ।

अनेपक्षित रूपमा कहिले एकदमै कम या बढी वर्षाले गर्दा किसानहरू वर्षौंदेखि बालीनालीमा क्षति भइरहेको क्रन्दन अहिले पनि संसद भवनमा छलफलको विषय बन्न सकेको छैन । अरू कुरा त छोडौँ, किसानहरूले कृषि बिमाबापत तिर्नुपर्ने जम्मा ५ प्रतिशत रकमका लागि पनि आकर्षण गर्न सकेको छैन । त्यसैले यस्ता सरकारी औचित्यहीन नीति तथा कार्यक्रम बनाउनुको कुनै अर्थ देखिँदैन ।

बर्सौँदेखि नेपालको तराईका जिल्लाहरूमा लगातार दुई–तीन दिनको वर्षाले मात्र पनि डुबानमा परिरहेको देखिन्छ । हजारौँ हेक्टर खेतबाली नोक्सान गरिरहेको छ । खेतीयोग्य जमिन नदीले कटान गर्दै छ । पहाडी जिल्लाहरूमा पहिरोले पुरिएर गाउँ नै सखाप भइरहँदा पनि त्यस्ता जोखिम बस्तीलाई पुनःस्थापना गर्न सरकारले न त कुनै पहल गरेको सुनिन्छ न त कुनै नीति अगाडि ल्याएको छ । सधैँजसो कर्णालीवासीलगायत अन्य क्षेत्रका बासिन्दा खाद्य सङ्कटमा परिरहँदा पनि खाद्य सुरक्षा नीति अहिलेसम्म लागू गर्न सकेको छैन ।

जलवायु परिवर्तनले कृषि, स्वास्थ्य, शिक्षा, आवास, भौतिक पूर्वाधार, गरिबीजस्ता बहुआयामिक प्रभाव पारे पनि प्रत्यक्ष असर भने किसानलाई देखिन्छ ।

विश्वव्यापी रूपमा जलवायु परिवर्तनको प्रतिकुल असरलाई न्यूनीकरण गर्न विभिन्न देशहरूले अपनाएका सुरक्षा नीतिबारे नेपाल अनभिज्ञ देखिन्छ । नभए खाद्य सुरक्षाका लागि खाद्य उपलब्धता, खाद्यमा सहज पहुँच, प्रयोग, दिगोपनाका लागि बहुआयामिक जलवायु परिवर्तनका विषयमा ठोस नीति बनाई प्रभावकारी ढङ्गले कार्यान्वयन गरिरहेको हुन्थ्यो होला ।

स्वास्थ्य क्षेत्रमा गरिएको अनुसन्धानलाई हेर्दा पनि अड्कल काट्न सकिन्छ । कृषिप्रधान देशमा अहिले पनि ३३ प्रतिशतभन्दा वढी मान्छे खाद्य असुरक्षाबाट प्रभावित छन् भने ३६ प्रतिशत बालबालिका खाद्य अभावले पुड्को भएको पाइएको छ । त्यसैगरी ३५ प्रतिशत प्रजनन उमेरकालाई रक्तअल्पता देखिएको छ ।

जलवायु परिवर्तनले कृषि, स्वास्थ्य, शिक्षा, आवास, भौतिक पूर्वाधार, गरिबीजस्ता बहुआयामिक प्रभाव पारे पनि प्रत्यक्ष असर भने किसानलाई देखिन्छ । किसानहरू जल, जमिन र जङ्गलको सधैँ समीपमा रहने, प्राकृतिक स्रोतसाधनको उपयोग गर्ने भएकाले जलवायु परिवर्तनका असर तथा सूचकबारे बढी भुक्तभोगी हुन्छन् ।

अहिले देखिएको तापक्रम र वर्षामा भएको परिवर्तन, माटोको उर्बर शक्ति ह्रास, बालीमा विभिन्न किरा फट्याङ्ग्राको सङ्क्रमण तथा प्रकोप, मौसमी तालिकामा देखिएको परिवर्तन, अतिवृष्टि, अनावृष्टि जस्ता सूचकका बारे किसान सधैँ प्रभावित हुन्छन् । त्यसैले अब राज्यले अनुकुलित कृषि प्रणालीलाई जोड दिन आवश्यक छ ।

जलवायु परिवर्तनले गर्दा अन्नबाली उत्पादन हुन छोडेपछि केही किसान आफूमा भएको ज्ञान, सीप, क्षमता, जनशक्तिको गलत अभ्यास पनि भएको देखिन्छ । अन्न फलेन भन्दै अहिले आलुको पकेट क्षेत्र, माछा पाल्ने, तरकारी उत्पादन गर्ने भएकाले अन्नबाली उत्पादनमा ह्रास आएको देखिन्छ । त्यसैले कुनै पनि ठाउँको तत्कालीन लाभ र दीर्घकालीनरूपमा सन्तुलन बनाइराख्न किसानलाई सिकाउन जरुरी छ ।

जलवायु परिवर्तनको असरसँगै किसानहरूलाई अनुकुलित कृषि प्रणाली, बदलिँदो वातावरण सुहाउँदो कृषि उपजमा सचेत बनाउन जरुरी देखिन्छ । कृषि मन्त्रालय, वन तथा वातावरण मन्त्रालय लगायत मन्त्रालयहरूले जलवायु परिवर्तनसँगै जोडेर कृषि अनुकुलन कार्यक्रम सञ्चालन गर्न अपरिहार्य छ ।

एकैखाले बाली उत्पादनले आयआर्जनमा बृद्धि भए पनि खाद्य असुरक्षाले जोखिम पनि उत्तिकै ल्याउँछ । अहिले धेरै किसान बाध्यताले आफ्नो अभाव पूर्ति गर्न दुई–दुई सिजन बाली लगाउने, उत्पादन बढाउन धेरै विषादी मलखाद प्रयोग गर्दा माटोको उर्बराशक्ति क्षीण हुँदै गएको छ, जसले गर्दा खाद्य विविधतालाई सन्तुलन गर्न थप चुनौती थपिएको छ । यस्ता विषय कृषक पाठशालामा छलफल हुन जरुरी छ ।

पहिले जस्तै किसानले भण्डारण गरी राखिने रैथाने बीउबिजनहरू चाहे त्यो तरकारीको होस् या धान गहुँ मकै भण्डारण गर्ने परम्परागत ज्ञान सबै लोप भइरहेका छन् । बढी उत्पादनको लोभले हाइब्रिड धान, मकै, आलु, तोरी लगायतका बीउ उच्च मूल्यमा खरिद गरी छर्ने लहर बढेको छ । एकातिर किसानहरूलाई आर्थिक व्ययभार थपिएको छ भने अर्कातिर हाइब्रिड बीउले विषादी मल प्रयोग नगर्दा किराको सङ्क्रमण पनि उत्तिकै बढेको देखिएको छ ।

किसानहरू जलवायु परिवर्तनको सामना गर्न सक्षम देखिएका छैनन् । किसानले प्रयोग गर्ने किटनाशक रसायन प्रयोगले पनि थप जलवायुमा प्रभाव पारिरहेको छ । साथै पानीजन्य रोगहरू जस्तै टाइफाइड, हैजा, झाडापखाला, आँखा पाक्ने, पट्ठरी जस्ता रोग पनि धेरै मात्रामा देखिएका छन् । जलवायु परिवर्तनले एकातिर उत्पादनमा ह्रास ल्याएको छ भने अर्कातिर किसान सधैँ आर्थिक जोखिममा रहेको देखिन्छ ।

त्यसैले जलवायु परिवर्तनको असरसँगै किसानहरूलाई अनुकुलित कृषि प्रणाली, बदलिँदो वातावरण सुहाउँदो कृषि उपजमा सचेत बनाउन जरुरी देखिन्छ । कृषि मन्त्रालय, वन तथा वातावरण मन्त्रालय लगायत मन्त्रालयहरूले जलवायु परिवर्तनसँगै जोडेर कृषि अनुकुलन कार्यक्रम सञ्चालन गर्न अपरिहार्य छ ।

कृषकहरूले बर्सेनि उत्पादन गरेका बाली क्षतिका लागि कृषि बिमा, सहज तथा सहुलियत दरमा कृषि ऋण लिन प्रोत्साहन गर्न सकिन्छ । भौगोलिक हिसाबले विविधता भएको नेपालमा जलवायु परिवर्तनको सवालमा अझै पनि पर्याप्त अनुसन्धान हुन सकेको छैन ।

पछिल्लो समयमा मन्त्रालयले युएनको खाद्य तथा कृषि सङ्गठनसँग मिलेर जलवायुमैत्री कृषि लगानी अन्तर्गत पञ्चवर्षीय योजनाका लागि ७० करोड अमेरिकी डलर ल्याएको भए पनि प्रभावकारी ढङ्गले अझै पनि कार्यान्वयन हुन सकेको छैन । सङ्घीय संसदीय समितिले तीन वर्षीय कृषि नीतिगत दस्तावेज तयार पारेको भए पनि जलवायु अनुकुलनलाई कृषिसँग जोडेको देखिँदैन ।

त्यसैले अनुकुलित कृषि प्रणाली नीतिसँगै जलवायु परिवर्तनको मुद्दालाई उच्च प्राथमिकतामा राखी कृषि विज्ञहरूको समूह परिचालन गरी जलवायु परिवर्तनले ल्याउन सक्ने सम्भावित जोखिम कम गर्न सकिन्छ । त्यसैगरी, माटोको जैविक गुण बढाउने रणनीति, कृषि वन प्रवद्र्धन जस्ता नीति प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न सकिन्छ ।

कृषकहरूले बर्सेनि उत्पादन गरेका बाली क्षतिका लागि कृषि बिमा, सहज तथा सहुलियत दरमा कृषि ऋण लिन प्रोत्साहन गर्न सकिन्छ । भौगोलिक हिसाबले विविधता भएको नेपालमा जलवायु परिवर्तनको सवालमा अझै पनि पर्याप्त अनुसन्धान हुन सकेको छैन ।

भौगोलिक विविधतालाई ध्यान दिई कृषकहरूलाई समय, मौसम सुहाउँदो बाली उत्पादनमा जोड दिन जरुरी छ । किसानहरूलाई जलवायु परिवर्तन अनुकुलन कृषि प्रणालीमा उपयुक्त प्रविधिको प्रयोग, जुझ्ने ज्ञान तथा सीप, उचित सिँचाइ व्यवस्थापन, सहुलियत दरमा मलखाद र बीउबिजनमा सहज पहुँच, उत्पादन बालीको समयमा उचित मूल्य निर्धारण, कृषि अनुदानमा सहज पहुँच, कृषि व्यवसायमा जोखिम बहन, व्यावसायिक क्षतिपूर्र्ति जस्ता कार्यक्रमलाई उच्च प्राथमिकताका साथ सरकारले ध्यान दिन जरुरी छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ