FB_IMG_1637022531663

चित्रबहादुर चौधरी
जनगणनाको लगत लिने टोली जतिसुकै बेला पनि आउन सक्थ्यो।आएछ।म विद्यालयमा थिएँ।छोराछोरी सायद Free Fire खेलिरहेका हुँदा हुन्।
खोरमा काम गर्दै गरेकी आफ्नी आमालाई मान्छे आएको खबर गरिन् छोरीले।तर,घरबाहिर निस्किनन्।लगतकर्ताले पालैपालो सबैको नाम सोधिन्।आमा चाहिँले फटाफट ….चौधरी,…..चौधरी भन्दै पूरै परिवारको नाम टिपाइन्।फारममा भएका अन्य विवरण सोध्न लगतकर्तालाई आवश्यक लागेनछ।त्यसैले उनले सोधिनन्,यिनले टिपाइनन्।तर,फारममा नामबाहेक सोध्नै पर्ने भराउनै पर्ने जाती,भाषा,धर्मजस्ता ज्यादै महत्त्वका अन्य विवरण पनि छन्।
मेरा बा आमा थारू थिए।म पनि थारू बोल्ने थारु नै थिएँ।प्रकृतिको उपासना गर्ने थारूको बच्चो!दाङ लक्ष्मीपुरमा पर्ने ‘खेट्खेट्या डँरवा’को आँप बगैँचा स्कुल थियो।स्कुलमा भर्ना हुन बाबाले लाँदासम्म म ‘चितबहड्रा थारू’ थिएँ ।नाम लेखाएर घर फर्कँदा म चित्रबहादुर चौधरी बनेर आएँ।मेरो नाम एकजना बाहुन गुरूले लेखिदिनु भएको थियो।
हाम्रो परिवारसँग ती गुरुको सम्बन्ध ज्यादै सुमधुर थियो।’छारा’ गरेर ‘बुह्रान’ नझर्दासम्म प्राय: मेरो थातबास उहाँ गुरुकोमा नै हुन्थ्यो।यति सारो लगाव र झुकाव भएका गुरुले जानीजानी मेरो परिचय बिगारिदिए भन्न त के कल्पना पनि गर्न सक्तैन।बरु,त्यतिबेला औसत थारूभन्दा फरक देखिन ‘चौधरी’ लेखाउने होडबाजी चलेको थियो।ठूलाबडा जमिन्दार थारूहरुले नामका पछाडि ‘चौधरी’को फुर्को जोडेर सान देखाउँथे।मेरा नाम लेखिदिने गुरूले पनि त्यसैको सिको गर्नु भयो।र,मलाई थारूबाट चौधरी बनाइदिनु भयो।
२०७८कात्तिक२९
टीकापुर,कैलाली

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ