हसुलिया, २ मंसिर । कैलालीको कैलारी गाउँपालिका वडा नं. ७ ले योजना फेरबदल गरि २० लाख रुपैयाँ रकमान्तर गरि किसानलाई गहुँको बीउ वितरण गर्न थालेको छ ।
कैलारी गाउँपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष कमल प्रसाद चौधरीका अनुसार कात्तिक ७ गते कार्यपालिकाले गरेको निर्णयलाई फ्लोअप गर्दै वडाका किसानलाई बीउ वितरण गर्न लागेको हो ।
पालिकाले बाढी प्रभावितलाई राहत सम्बन्धमा सर्वदलीय बैठक बसी खाद्य सुरक्षा कोष स्थापना गर्ने तथा बाढी प्रभावित किसानलाई हिउँदेबालीमा १०० प्रतिशत अनुदान दिने निर्णय गरेको थियो ।
वडा अध्यक्ष चौधरीले आज वडा समिति र गाउँका भलमन्साहरुको बैठक बसाई वडाको बजेटलाई रकमान्तर गरि ६८० बोरा अर्थात २७ हजार २०० केजी गहुँको बीउ खरिद गरेको बताए । पालिकाले एक हजार बोरा अर्थात ४० हजार केजी बीउ उपलब्ध गराएपनि सो बीउ किसानलाई अपुग भएपछि बजेट रकमान्तर गर्नुपरेको हो ।
उक्त वडामा १६ सय ५८ घर परिवार छन् । वडा कार्यालयले प्रति घरपरिवारलाई १० कठ्ठा बराबरको ४० केजी बीउ अनुदान दिएको हो । यो वर्ष किसानले भित्रियाउन लागेको धानबाली बेमौसमी झरीले सबै सखाप पारेपछि पालिकाले पहिलो चरणको राहतमा गहुँको बीउ उपलब्ध गराएको अध्यक्ष चौधरीले बताए ।
पालिकाले गत महिना सर्वदलीय, सर्वपक्षीय बैठक बसी कैलारी गाउँपालिकाभित्र भोकमरी न्यूनीकरणका लागि तीन करोड २५ लाख रुपैयाँ बराबरको खाद्य सुरक्षा कोष समेत स्थापना गर्ने निर्णय गरेको थियो ।