कृष्ण विश्वकर्मा , ” कमरेड सतिसाल ”
भरतपुर-११, चितवन हाल : युएई
——————————-
हिँड्दा हिँड्दै धेरै हिँडिएछ
सुल्टै सुल्टोका लामा यात्राहरू !
बाटोमाथि नहिँड् भने
सुल्टै हुकुम ठाने – हिँडेनन् !
भित्र नपस् भने
सुल्टै कृपा ठाने – पसेनन् !
दैलो नछो भने
सुल्टै उर्दी ठाने – छोएनन् !
त्रास त्रासमै
यसरी नै धेरै हिँडे
लाटा लाटा पाइतालाहरू
सुल्टै सुल्टोको पिँधै पिँध
सुल्टै सुल्टो हिँड्दा हिँड्दा
किचिमिचिमा परेर सुल्टैको रजगजभित्र
भएका हुन् लाटा पाइतालाहरू समाधिस्थ !
भर्खर भर्खरै ब्युँझेको छ एउटा बागी चेतना
पढ्दा पढ्दै सुल्टै सुल्टोको कुटिल भाष्यहरू
यतिखेर मेरो छुच्चो मस्तिष्क
उम्रेर उहीँ पाइतालाहरूको समाधिबाट
गर्दैछ- सुल्टै सुल्टोको अविराम उल्टो यात्रा
कतिपय सुल्टोहरू
श्राद्धमा बिरालो बाँधेर अमर भएछन् !
कतिपय सुल्टोहरू
ग्वेबल्सले रटाउँदा रटाउँदै स्वर्णिम भएछन् !
कतिपय मिथकीय सुल्टोहरू
शास्त्रले पिलाउँदा पिलाउँदै अजर भएछन् !
बिज्ञान त अझै पनि
अट्टाहासको मूर्च्छामा छ
जबदेखि सुन्दै सुन्दै आयो
मुख, बाहु, उदर र पाउबाट मान्छेको सृष्टि
हो यहीँबाट शुरू भएको हो मेरो
एक अविराम- सुल्टै सुल्टोको उल्टो यात्रा ।
जब मेरो चेतना
पुच्छरको ‘ज्ञ ‘ हुँदै हुँदै ‘क’ सम्म पुग्यो
यात्रामा भेटेँ मुस्कुराइरहेका
अघोषित स्वरसम्राट – झलकमान गन्धर्व
भेटेँ यात्रामै
भक्ति थापा अघि अघि लम्केमा- बाङ्गे सार्की
भेटेँ यात्रामै
आदिम शासकलाई राजपाठ सिकाउने
अलिखित चाणक्य – बिसे नगर्ची
सुल्टै सुल्टोको उल्टो यात्रामा
जब सुनें अचानक
– हामीले हिमाल उठायौं एसियाको माझमा…
उत्तिनैखेर देखें
खित्का छोडेर हाँसिरहेको- हिमालकै फेद !
तीतो हुन्छ अन्तिम सत्य
तीतै हुन्छ सुल्टै सुल्टोको उल्टो यात्रा
यतिखेर म यात्रारत छु
पन्छाउँदै पन्छाउँदै जिब्रोको- मीठो स्वाद
सुल्टै सुल्टोको उल्टो यात्रामा
सम्बोधन गर्न प्रकट भए एक महान पंक्ति
” ईश्वरको सन्तान मान्छेका भाइ……….”
किच्च हाँस्यो मेरो यात्रा
खोज्दा – न भेट्यो ईश्वर न भेट्यो मान्छेका दाइ
गर्दै गर्दा
सुल्टै सुल्टोको उल्टो यात्रा
खोज्न मन भयो
सयौं थुंगा फूलका हामी एउटै माला…भित्र
कहाँनिर छ – धतुरो , बुकी फूलको स्थान ?
कहाँनिर छ – बाह्रमासा भुइँ फूलको अस्तित्व ?
मलाई एक दिन
पुग्नुछ फेदबाटै सगरमाथाको टुप्पो
र, चर्को स्वरमा मुखरित हुँदै लेख्नु छ
सुल्टै सुल्टोको – उल्टो यात्राको इतिहास ।
***********