बैतडी : बैतडीको सिगास गाउँपालिका–३ ठूलीसैनमा खानेपानी ल्याउन छिमेकी जिल्लाबाट खानेपानीको जोहो गर्नुपथ्र्यो। डडेल्धुराको नवदुर्गा गाउँपालिका क्षेत्रबाट करिब २ घण्टाको पैदल हिँडेर खानेपानी ल्याउनुपर्ने बाध्यता थियो। तर, करिब २ सय घरपरिवार बस्दै आएको ठूलीसैनमा अहिले अवस्था फेरिएको छ। प्रदेश सरकारको सहयोगमा सोलार लिफ्टिङ खानेपानी योजनाबाट घरघरमा धाराहरू पुगेपछि दैनिकी सहज बनेको छ।
छिमेकी जिल्ला डडेल्धुराको नवदुर्गाका स्थानीयले ‘हाम्रो पानीको मुहान’बाट पानी लग्न पाइँदैन भनेर झगडा गरेका दिनहरू सम्झँदै ठूलसैनकी सारती धामीले भनिन्, ‘दुई घण्टाभन्दा बढी पैदल हिँडेर खोलाबाट खानेपानीको जोहो गर्नुपथ्र्यो, त्यहाँ पनि पानी लग्न पाइँदैन भनेर झगडा हुन्थ्यो, अहिले घरघरमा धाराहरू जडान भइरहेका छन्, दैलोमै खानेपानी पुगेपछि सहज भयो,’ उनले भनिन् ।
प्रदेश सरकारको सहयोगमा ठुलीसैन खानेपानी योजना करिब २ करोड ८० लाख लागतमा निर्माण हुन लागेको लिफ्टिङ खानेपानी योजना निर्माणको अन्तिम चरणमा छ। ३ किलोमिटर तल सिन्या खेतबाट सोलार लिफ्टिङ प्रबिधिबाट खानेपानी योजना निर्माण सम्पन्न भइरहेको योजना उपभोक्ता समितिका अध्यक्ष सुन्दर धामीले बताए। ३ किलोमिटर उकालोमा तानिएको पानीबाट खानेपानीका लागि मात्रै नभइ सिँचाइका लागि पनि सहज भएको छ।