FB_IMG_1681180248844
Advertisements

–छविलाल कोपिला
थबाङ !
बारुदको गन्धबाट हुर्किएको भूगोल
विद्रोहको ज्वालाबाट उठेको बस्ती
र क्रान्तिको धारबाट बगेको मन हो ।

जब पलाउँछन्
बस्तीका डालीहरूमा आकांक्षा गुराँस छहरू
कोइलीहरू गाउँछन्
परिवर्तनका गीतहरू
र, फुल्न थाल्छन्
आस्थाका रक्तिम फूलहरू
यता स्याल हुइयाँसँगै
साम्राज्य जमाउँछन् औंसी रातहरू
र तर्साउन खोज्छन् अनेक राँके भूतहरू
तर थबाङ कहिल्यै डराउँदैन
ऊ कहिल्यै तर्सिदैन
किनकि,
थबाङ पूर्णिमा हो र आफै राँको हो ।

बाजहरू
थबाङलाई बारम्बार हेर्छन्
आगोको फिलिङ्गो जस्तै आँखाहरूले
कोपर्न खोज्छन्
सुइरो जस्तै तिखा नाङ्ग्राहरूल
र, टोक्न आउँछन् भाला जस्तै दाँतहरूले
तर, थबाङ स्वाभिमानको छाती थापेर
निर्भीकतापूर्वक ठिङ्ग उभिरहन्छ ।

जून निलेर औंसीहरू
जब थबाङको स्वाभिमानमाथि
नाइट भिजनहरूबाट
बर्साउँछन् कायरताका गोलीहरू
मिसाइलहरू र बम–बारुदहरू
थबाङ जुरुक्क उठ्छ
ऊ पनि निस्किन्छ समरयात्रामा
र उभिन्छ युद्ध मैदानमा
रुख, बुट्यान, ढुङ्गाहरूका आर्क लिएर
बङ्कर र सेल्टरहरूबाट
धैर्यता र साहास बोकेर
आस्था र दृढता बोकेर
प्रतिकारात्मक प्रहार गर्छ
दुर्भाग्य पोखिन्छन्
माटोमा दुइ–चार थोपा रगतहरू
तर पनि थबाङ,
सधैं विजयको झण्डा लिएर उभिन्छ ।

थबाङ !
धेरै पटक आश्वासनहरू खाएको छ
झूठहरू अनि भ्रमहरू पचाएको छ
दुःख, बेथिति र नियतिहरू भोगेको छ
अवरोध–प्रतिरोधको सामना पनि गरेको छ
यसरी भोक, रोग र प्याससँग संघर्ष गर्दै
दमन, शोषण र उत्पीडनसँग जुझ्दै
विचारको ज्वार बोकेर
ऊ क्रूरता र आतंक बिरुद्ध विध्वंश मच्चाउँदै
निस्किन्छ अंगारबाट आँट र विवेक बनेर ।

थबाङ !
दुश्मनहरूका बिरुद्ध
आगोका लप्काहरू ओकल्दै
ज्वालामुखीझैं बिस्फोट हुँदै
ती अनिदा रातहरू ब्युँझाउँदै
ऊ पूर्णिमाको जून जस्तै उदाइरहेछ
र अब कसैको दास बन्नु हुँदैन
कसैको कमारा बन्नु हुँदैन
यही क्रान्तिकारी सन्देश बोकेर
सगरमाथाझैं उच्च स्वाभिमानी भएर
थबाङ चलमलाइरहेछ ।

प्रकृतिका अनुपम सुन्दरतासँगै
जब थबाङखोला सुसाउँछ
झुपडी, गरीब, निमुखाहरूको आवाज
प्रकृति पूजकहरूको भूमे
प्राचीन कला–संस्कृति र पहिचान
सुनछहरी गाउँछ शान्तिको गीत
र उत्साहको हातहरू हल्लाइरहेछ जलजला
यता आफ्नै आस्था र आफ्नै भरोसामा
सगर्व बाँचिरहेछ थबाङ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ