कैलाली १ पुस । कैलाली उद्योग वाणिज्य संघ कैलालीद्वारा धनगढीमा सञ्चालित सुदूरपश्चिम महोत्सवको नवौं दिन शनिबारका दिन एक लाख बढीले अवलोकन गरेको आयोजकको दाबी छ ।
‘महोत्सवको नवौं दिन शनिबार सबैभन्दा बढी दर्शकले अवलोकन गरेका छन्,’ कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले भने, ‘महोत्सव हेर्न आएका कतिपयलाई त टिकट व्यवस्थापन गर्न नसक्ने अवस्था आयो । १७ औं वार्षिक संस्करणसम्म आइपुग्दा शनिबारको संख्या अहिलेसम्मकै बढी हो । दर्शकको घुइाचोले महोत्सवस्थलको आन्तरिक व्यवस्थापन नै कठिन हुन गयो ।’
धनगढीस्थित पशुपति टोलको खुला मैदानमा जारी महोत्सवस्थलको क्षमता एक लाख हाराहारीमात्रै रहेको आयोजकले जनाएको छ । संघले हरेक वर्ष धनगढीमा प्रदेशस्तरीय महोत्सवको आयोजना गर्दै आएको छ । सुदूरपश्चिमको विकासका प्रमुख सवाललाई उठान गर्दै महोत्सवका माध्ययमबाट देशका कार्यकारी प्रमुखलाई माग पेश गर्दै आएको छ ।
जारी महोत्सवमा ब्यावसायिक प्रयोजन एवं किनमेलका साढे तीन सय स्टलहरु राखिएका छन् । करिब ६० जना व्यवासायीलाई स्टल दिन नसकेर फर्काउनु परेको अध्यक्ष कुँवरले बताए । ‘आर्थिक मन्दीका कारण स्टल बुकिङ हुन्नन् कि भन्ने लागेको थियो । तर, स्टल बुकिङ माग बढि भएर फर्काउनु पर्ने अवस्था आयो,’ कुँवरले भने, ‘दर्शकहरुको आकर्षण पनि अत्यधिक देखियो ।’
सुदूरपश्चिमको विकासका ऐजेण्डा उठान गरेर संघले गर्दै आएको महोत्सव यस वर्षको श्रृखलामा थारु गाउँ प्रदर्शनी दर्शकका लागि आकर्षणको केन्द्र बन्यो ।