Screenshot_20240121-071327_Facebook
Advertisements

धनगढी । कठरिया थारु समुदायको पहिचान झल्काउने परम्परागत घर अहिले हराउन थालेको छ । कङ्क्रिटको घर निर्माण गर्नेक्रम बढेसँगै कठरियाको पहिचान झल्काउने परम्परागत घर हराउन थालेको हो ।

केही दशक पहिले कैलालीको विभिन्न गाउँमा प्रकृति र संस्कृतिप्रेम झल्काउने त्यस्ता घर थुप्रै देखिन्थ्यो । तर आधुनिकता र बदलिँदो आर्थिक अवस्थासँगै त्यस्ता घर मासिन थालेको छ । अचेल बिरलै गाउँमा कठरिया थारु समुदायको त्यस्ता घर देख्न पाइन्छ ।

विगतमा माटोले बनेको कच्ची घरमा कला र सुन्दरता झल्किन्थ्यो । घरको भित्तामा चराचुरुङ्गी, हरिन, थरिथरिको फूल बनाएर सजाउने गरिएको थियो । तर, पछिल्लो समय हट्दैगएको फुसको छानोसँगै यो समुदायको घरको मौलिकपन पनि हराउँदै गएको छ । अचेल कठरिया गाउँमा भव्य महल समेत बन्दैछ । विगतजस्तो मौलिकपन र पहिचान भने त्यसमा देखिँदैन ।

घरको भित्तामा चित्र बनाउन धेरै मिहिनेत लाग्ने गरेकाले कठरिया थारुको मौलिक पहिचान झल्काउने घर हराउँदै कैलारी गाउँपालिका –८ का वडा अध्यक्ष तारामल कठरियाले बताए।

उनले भने ‘घरको भित्तामा अहिलेको पुस्ताले रङ्गीबिरङ्गी चित्र बनाउन सक्दैनन् । न त उनीहरुसँग त्यति गर्न समय छ ।’ सीप र समयको अभावका कारण कठरिया थारु पहिचानको घर हराउँदै गएको कठरियाको भनाइ छ ।

नेपालमा कठरिया थारु समुदायको बसोबास कैलाली, बर्दिया र नवलपरासीमा मात्रै छ । सबैभन्दा बढी कठरिया कैलालीमा रहेका छन् । कैलालीको जोशीपुर गाउँपालिका, बर्दगोरिया गाउँपालिका, जानकी गाउँपालिकामा प्रायः सबैतिर कठरिया थारु बसेका छन् । यसैगरी, घोडाघोडी नगरपालिकाको सिसैया, तप्पा, भजनी नगरपालिकाको चर्रा, कैलारी गाउँपालिकाको पवेरा, मनाउँ, मझरा, लौसामा पनि कठरिया थारु बस्दै आएका छन् ।

जिल्लास्थित कठरिया थारु बसोबास रहेको गाउँमध्ये पवेरा, तप्पा र सिसैया गाउँको केही घरमा मात्रै अचेल कठरिया थारु पहिचानयुक्त घर बचेको वडा अध्यक्ष कठरियाले बताए । ‘बाँकी अरू गाउँमा त कुन थारुको घर हो, वा कुन कठरियाको घर भनेर छुट्टयाउनै सकिन्न’ उनले भने ।

यो समुदायको मानिसले माटोको नयाँ घर बनाउँदा घरको भित्तामा मयूर, हरिन, चरा, माछा, फूल लगायतका चित्र बनाएर त्यसलाई रङ्गाउने चलन थियो । अचेल माटैको नयाँ घर बने पनि त्यस्ता चित्र बनाइँदैन । अल्पमतमा रहेको समुदायको संस्कृति प्रवर्द्धनमा कसैको चासो नहुनू र कठरिया थारु बुद्धिजीवीको कमीकमजोरीका कारणले कठरिया पहिचानको घर हराउँदै गएको युवा स्रष्टा सुवेश कठरियाको भनाइ छ ।

उनले कठरिया थारु समुदायको संस्कृति, संस्कार संरक्षणका लागि सम्बन्धित निकायमा पहल गर्दा सुनुवाइ नहुने गरेको गुनासो गरे । थारु आयोग, थारु मञ्चजस्ता निकायले पनि कठरिया थारु समुदायको संस्कृति, पहिचान संवर्द्धनमा ध्यान नदिएको उनको जिकिर छ ।

कठरिया थारु समुदायको हराउँदै गएको संस्कृति, संस्कार, मौलिकपन जोगाउनका लागि कठरिया समाज नेपालले सो समुदायमा सचेतना फैलाउनुका साथै पैरवी पनि गरिरहेको छ । समयअनुसार चल्नु पर्ने भएकाले पहिलेजस्तै माटो र काठकै घर नबनाए पनि पक्की घर बनाउँदा समेत मौलिक पहिचान झल्किने गरी कलात्मक चित्र बनाउन समुदायमा छलफल चलाएको समाजका अध्यक्ष दुःखीराम कठरियाले बताए।

‘कठरिया पहिचानको घर निर्माण फेरि सुरुवात गर्नका लागि समाज लागिपरेको छ’ उनले भने, ‘किनभने, त्यो हाम्रो पहिचान हो । यसका साथै, भाषा, लिपी, शब्दकोश निर्माणका लागि हामीले काम गरिरहेका छौँ ।’ समाजका अनुसार नेपालमा कठरिया समुदायको जनसङ्ख्या ४० हजारदेखि ५० हजारसम्म रहेको अनुमान छ । गाेरखापत्रबाट

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ