–छविलाल कोपिला
नाक !
मानव शरिरको एक अंग
अथवा एक ज्ञानेन्द्रीय
जसले सुगन्ध चाल पाउँछ
गन्ध थाहा पाउँछ ।
नाक धेरै थरिका हुन्छन्
चुच्चे नाक, मध्यम नाक र थेप्चे नाक
उसैगरि सरकारी नाक
कर्मचारी नाक,
भ्रष्टचारी नाक
कुर्सीवाला नाक
मूर्तिवाला नाक
फुर्तिवाला नाक
साम्राज्यवादी नाक
बिस्तारवादी नाक
अतिवादी नाक आदि–आदि ।
अचेल नाकहरू पनि रंग फेर्छन्
आकार फेर्छन्, प्रकार फेर्छन्, रूप फेर्छन्
चुच्चेहरू केहीछिनका लागि थेप्चे भइदिन्छन्
थेप्चेहरू पनि चुच्चे भइदिन्छन्
मध्यम नाकहरू पनि
कहिले चुच्चे त कहिले थेप्चे भइदिन्छन्
समय, ठाउँ अनुसार
स्वेच्छाले आकार, प्रकार, रूप फेर्न सक्छन्
हामीले यसलाई कुनै अनर्थ मान्नु पर्दैन
किन कि यो समय बिज्ञानको हो
मनोबिज्ञानको हो
अथवा भनौं नाकको हो ।
यहाँ न्यायालयको फैसलाको तुलो पनि
नाकवालाको हातले समाउँछ
देशको भात–भान्साको चुलो पनि
नाकवालाहरूको हातमा छ
पैसाको मुलो पनि यिनकै नाकमा छ
त्यसकारण गन्ध, सुगन्ध पनि
यिनीहरूले मजाले चाल पाउँछन्
अर्थात गन्धलाई सुगन्ध
सुगन्धलाई गन्धमा बदल्न सक्ने हैसियत छ
नामवालाहरूको नाकमा ।
आजभोलि बालुवाटार
ठस–ठसी गन्हाएको छ
डुङ–डुङ गन्हाएको छ
गन्धले सबैलाई वाक–वाक लागिरहेछ
दुनियाँलाई छिः छिः, दूर–दूर भएको छ
तर, स्याल–हुइयाहरूले सिनो मन पराएझैं
चुच्चो परेका नाकवालाहरू
सुगन्ध नै हो भनी ठोकुवा गर्दै
सुघ्दै–सुघ्दै उतैतिर लागिरहेछन्
अर्थात बालुवाटारतिर लागिरहेछन्
यसैको गुनगानमा छन्
र, यसैको भजनकिर्तनमा छन् ।
सूनले सूनवायु
वाइडबडीले पेट्रोलवायु छोड्दा
अथवा डकार्दा पनि गन्नाउँछ
र, दुर्गन्ध फैलिन्छ चारैितिर
तर उहीँ दुर्गन्ध बालुवाटारवाला नाकले
सुगन्ध चाल पाउँछ
सिंहदरबारको नाकले
सुगन्ध नै भनेर उर्दी जारी गर्छ ।
किन कि यो बिज्ञानको समय हो
मनोबिज्ञानको युग हो
अलग–अलग कच्चा पदार्थहरूको मिश्रणमा
स्वेच्छानुसारको माल बनाउन सकिन्छ
हो, यो हैसियत नाकवालाको नाकले राख्दछ ।