Advertisements
जित ट्रासन
हेलिकप्टरमा उडेर
पजेरोमा गुडेर
बाइकमा हुँइकेर
आज असार १५ अर्थात्
धान दिवस मनाउन निस्केको
म राजनेता हुँ ।
हिलोमा नपसेसम्म
पत्रकारले फोटो नखिच्ने भएपछि
यत्ति नगरेसम्म समाचार नबन्ने भएपछि
हिलोमा पाइला टेकेको हुँ ।
लादाले थेग्न नसकेपछि
कम्मरमा टेको लाएको हुँ
दुई डोभक्का बियार नरोपेसम्म
थुतुनोको फोटो नछापिने भएपछि
यत्ति नगरेसम्म चर्चित नहुने भएपछि
हिलोमा हात हालेको हुँ ।
किसानलाई चाहिने मलको बेवास्ता गरेर
पारिबाट विपतरामले साइकिलमा लादेर
ल्याएको मललाई
सुरक्षाकर्मीलाई बरामद गर्ने निर्देशन दिएर
आज असार १५ अर्थात्
धान दिवस मनाउन निस्केको
म राजनेता हुँ ।