FB_IMG_1708867245459
Advertisements

सोम डेमनडौरा

म एक शिक्षक
पढाउन त पढाएकै हो
तर खै के पढाएँ
विद्यार्थी फेल भैदिए ।

पढाउन जाँगर लगाए जस्तै लागेको थियो
आफ्नो संगठनको लागि गरेकै हो
मेरो पार्टीले आग्रह गरेपछि
केहि समय देशका लागि लगाएँ
केहि सम्बन्ध बनाउन लगाएँ
बचेकुचेको कतै लगाएँ
समय निकालेर विद्यार्थीलाई पढाएकै हो
तर विद्यार्थी अनुत्तिर्ण भैदिए ।
यो मेरो कमजोरी होइन
यो त अभिभावकको कमजोरी हो
नेताको कमजोरी हो
अनि प्रविधिको कमजोरी हो ।

म अभिभावक,
छोराछोरीलाई विद्यालय नपठाएको होइन
उसलाई रमाईलो होस् भनेर
भोजभतेरका डिजेमा नाच्न दिएकै छु
मुन्द्रे, झ्याम्टे बन्न दिएकै छु
यताउता जान कतै रोकेको छैन
जे खान्छ जे पिउँछ, बन्देज लगाएको छैन
मोबाइल किन्ने पैसा दिएकै छु
रातदिन चलाउन दिएकै छु
सबैचिज दिँदा दिँदै पनि
छोरा फेल भैदियो,
यो सबै शिक्षकको कमजोरी हो
विद्यालयको कमजोरी हो ।

म वि.व्य.स. को अध्यक्ष
शिक्षकलाई पढाउन भनेकै हो
पालिकालाई बजेट देउ भनेकै हो
म एक्लो मान्छे
कहाँ कहाँ समय दिन सक्छु ?
मेरा पनि खेतबारी, सन्तान छन्
मेरा पनि व्यापार व्यवसाय छन्
पार्टी संगठनमा समय दिनै पर्यो,
यो सबै हेडमास्टरको कमजोरी हो
यो सबै पालिकाको कमजोरी हो ।

म एक विद्यार्थी
लक्का जवान भएको मान्छे
मलाई मोबाइल चाहियो
सोसल मिडिया हेर्नै पर्यो
जवान छु, स्टाइलिस बन्नै पर्यो
जन्ति पार्टमा डिजे डान्स देखाउनै पर्यो
नखाई जिउ हल्लाउनै सकिदैन
केहि त पिउनै पर्यो
किताबको भारी भन्दा त
जन्तिमा देखि सारी राम्रो लाग्छ ।

अक्षर हेर्दा अक्षर नाच्छ
त्यो भन्दा त मै नाचेको ठिक
काला अक्षर भन्दा त
कलरफुल माहोल गज्जब लाग्छ
पढ्न त पढेकै हो नि यार
विद्यालय गएकै हो
सरले पढाएको कुरा सुनेकै हो
परीक्षामा जति सक्यो लेखेकै हो,
कापी चेक गर्नेले नम्बर नदिएपछि
मेरो के दोष?

तर कसमसे यार
म पढ्नु भन्दा त भोज भतेर
विहा, पार्टी र पिक्निक नै राम्रो लाग्छ
पढाउने शिक्षक भन्दा त भाषण दिने सर मनपर्छ
अनि सँगसँगै बसेर पिइदिने सर त झन्
आत्मै देखि मन पर्छ ।
अनि थाहा छ,
सँधै खुवाई राख्ने नेता पनि लास्टै मन पर्छ ।

तर कहिलेकाहीँ त लाग्छ,
श्याम म भन्दा राम्रोसँग पढेकै हो
उ कहिलै समय बर्बाद गरेन
र त आज उ मज्जाले पास भएको छ ।

१४ असार २०८१

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ