धनगढी, २१ पुस । कैलालीको धनगढी उपमहानगरपालिका–१६ स्थित भादा गाउँमा पुस १७ गतेबाट शुरु भएको थारु होमस्टे महोत्सव भव्यताको साथ सम्पन्न भएको छ ।
‘संरक्षणके लाग करी सबजे काम, संस्कृति भेष भुषा राखी हमार पहिचान’ कना मुल नाराको साथ थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा थारु होमस्टे गाउँ भादाको प्रचारप्रसार एवम् प्रवद्र्धनको साथै थारु समुदायको कला, संस्कृति जर्गेना गर्ने उद्देश्यले थारु होमस्टे महोत्सव शूरु भएको थियो ।
समितिको अध्यक्ष लक्ष्मीनारायण चौधरीको अध्यक्षतामा भएकोसमापन कार्यक्रममा उहाँ होमस्टेको प्रचारप्रसार तथा प्रवद्र्धनको साथै थारु समुदायको संस्कृति, खानपान, भेषभूषा, सीपकला, प्राकृतिक सम्पदाको सदुपयोग एवम् जगेर्ना गर्ने उद्देश्यसे हरेक वर्ष जस्तै यो बरस १२औं महोत्सव आयोजना गरेको बताए ।
पाँच दिने महोत्सवलाई भव्यताको साथमा सम्पन्न गर्नको लागी सबैतह तप्काबाट सहयोग भएकोले उहाँ धन्यावाद ज्ञापन र आभार व्यक्त गरे ।
कार्यक्रमको संचालन गायक राजु चौधरी ‘राज’ रसुनिता चौधरी गरेका थिए । महोत्सव अन्तिम दिन मोडेल डान्सर रितु चौधरी, हस्याकलाकार सुरदिप अकिलकटला, गायक अन्जान चौधरी, महालोक गायक मनिराम करियामघरियाको वेजोड प्रस्तुती रहेको थियो भने थारु समुदायको कला, संस्कृति झल्कने विभिन्न नाँच देखाएको थियो ।
महोत्सवमा थारु खानपानको परिकार, थारु सीपकला तथा भेषभूषा, थारु देउथान अवलोकन, थारु संग्राहालयको अवलोकन, काठे पिङलगायत आकर्षणको रुपमा थियो ।