Screenshot_2025-09-11-12-55-55-955_com.facebook.katana-edit

नेपालगन्ज : जेनजी आन्दोलनको क्रममा २३ भदौमा काठमाडौंको ट्रमा सेन्टरमा ६ जनाको मृत्यु पुष्टि भएकोे रिपोर्ट सार्वजनिक भयो। जसमा पहिचान नखुलेका दुई जनामध्ये एक थिए, नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोझीको आदर्श टोलका १९ वर्षीय आयुष थापा। ‘फिनल्यान्ड जाने तयारीका लागि भर्खरै मात्र काठमाडौं गएका आयुषको अवस्था बुझ्न परिवारले फोन गर्दा उठेन। परिवारले निकै चिन्ता गरे।

राति अबेर अरू कसैले फोन उठाएर प्र्रहरीको गोली लागेर घाइते भएका युवालाई एम्बुलेन्समा हाल्ने बेला मोबाइल खसेकाले आफूले लिएको र उनलाई ट्रमा सेन्टरमा उपचार गर्न पठाइएको सूचना दिए’, घटनाबारे नेपालगन्ज–१ का वडा अध्यक्ष प्रमोद रिजालले भने, ‘घाइते भएको खबर पाएपछि काठमाडौंमा रहेका आयुषका आफन्तले खोजी गर्दै अस्पताल पुग्दा शव देखेपछि मात्र मृत्यु भएकोे जानकारी पाए।

आन्दोेलनमा जाँदा कुनै परिचयपत्र नबोकेका कारण उनको पहिचान खुल्न सकेको थिएन।’ आयुषका हजुरबुबाकोे अप्रेशन गरेर पेस मेकर राखिएकाले परिवारले घाइते भएर उपचार भइरहेको भन्दै मृत्युको सूचना अहिलेसम्म पनि गोप्य नै राखेको छ। संवाददाता बुधबार अपराह्न ५ बजे उनको घर पुग्दा बयोवृद्ध हजुरबुबा टोपबहादुर थापा र हजुरआमा कलावती थापा नातिको उपचार गर्न काठमाडौं गएको छोरा सुशीललाई पनि सरकारले भेट गर्न किन नदिएको होला भनेर गुनासो गर्दै थिए। ‘नातिको अवस्था कस्तो छ ? थाहा नै पाउन सकेनौं। अहिलेसम्म किन भेट्न नदिएका होलान् ?’, हजुरआमा कलावतिले भावुक हुँदै भनिन्, ‘हजुरआमा एक पटक विदेश जान कोसिस गर्छु। भएन भने काठमाडौंमै ब्याचलर पढ्छु भनेर केही दिनअघि फोनमा कुरा गरेको थियो। घाइते भएको छ रे ! निकैै चिन्ता लागिरहेको छ।’

एञ्जल्स स्कुल नेपालगन्जबाट एसईई उत्तीर्ण आयुषले आदर्श माविबाट डेढ वर्षअघि प्ल टु उत्तीर्ण गरेका थिए। हजुरबुबा टोपबहादुरका अनुसार आयुष ब्रिटिस आर्मी बन्न चाहन्थे। स्वास्थ्य र शारीरिक रूपमा फिट थिए। टोपबहादुर आफै भारतीय सेनाका रिटायर्ड हुन्। भारतीय सेनामा चार वर्षका लागि मात्र भर्ती गर्ने नयाँ नियमले उनले भारत पठाउन चाहेनन्। नाति ब्रिटिस आर्मी बन्छुभन्दा खुसी नै थिए। बेलायती सेनाको सुर्खेतमा भएको छनौटमा आयुषलाई दाँतको कारण देखाउँदै छनोट गरिएन।

तीनवटा दाँत बिग्रेको भन्दै उनी फेल भए। बेलायती सेनामा नभएपछि आयुष फिनल्यान्ड जाने तयारीमा काठमाडौंको ग्रीनल्यान्डमा आफन्तको घरमा बसेका थिए। जेनजीको आन्दोलनबारे थाहा पाएपछि उनी साथीहरूको लहलहैमा लागेर माइतीघर हुँदै बानेश्वर पुगेका थिए। प्रहरीको गोली लाग्नु अघि बानेश्वर क्षेत्रमा उनले पानी खाँदै गरेको भिडियो सामाजिक सञ्जालमा भेटिएको थियो। आन्दोलनको अग्रमोर्चामा रहेका उनलाई प्रहरीले छातीमा दुईसहित तीन गोली प्रहार गरेपछि ढलेका थिए। उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो। त्यही मृत घोषणा गरियो।

शव लिन काठमाडौं पुगेका सुशील थापाले अहिलेसम्म छोराको मुहार हेर्न पाएका छैनन्। घरमा बिरामी बुबा र आमालाई कति दिनसम्म सूचना लुकाउने हो भन्ने चिन्ता भएको उनका आफन्तसमेत रहेका नेपालगन्ज–४ का वडा अध्यक्ष गोपाल पुनले बताए।

अस्ताए इन्जिनियर
जेनजीहरूको प्रदर्शनका क्रममा बाँकेमा ज्यान गुमाउने २३ वर्षीय सुलभराज श्रेष्ठ नेपालगन्ज–१ धम्बोझी निवासी लायन्स इन्टरनेसनल ३२५ एन डिष्ट्रिक सचिव तथा भेरी स्कुलका सञ्चालक नरेन्द्र श्रेष्ठका छोरा हुन्। सुलभको मृत्युको खबर मिडिया र सोसल मिडियामा सार्वजनिक भए पनि परिवारलाई घाइते भएर ट्रमा सेन्टरमा उपचार भइरहेको भनेर लुकाइएको थियो। घटनाबारे थाहा पाउनेबित्तिकै सोही साँझ उनका बुबा नरेन्द्र काठमाडौंं गएका छन्। सुलभले माध्यामिक तह बुबाकै भेरी स्कुलबाट उत्तीर्ण गरे। उनी काठमाडौंको कान्तिपुर इञ्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङ पढ्दै थिए।

एउटै वडाका दुई जनाको निधन भएपछि नेपालगन्जको धम्बोझी राम्ररी निदाएको छैन। नेपालगन्जमा कफ्र्युको तयारी चलिरहेको बेला साँझ अबेरसम्म पनि धम्बोझीका ठाउँ–ठाउँमा झुन्ड झुुन्डमा मानिसहरू जम्मा थिए। उनीहरू मृतक सुलभराज श्रेष्ठ र आयुष थापाकै विषयमा चिन्तित देखिन्थे। कोही शव आजै आइपुग्छ भन्दै थिए।

कोही अझै केही दिन कुर्नुपर्ने बताइरहेका थिए। टोलबासीसँगै रहेका नेपालगन्ज–१ का वडा अध्यक्ष प्रमोद रिजालले भने, ‘काठमाडौंको स्थिति अलि साम्य भएपछि मात्र शव दिन्छ होला। यहाँ चोक चौराहामा स्व.युवाहरूकै विषयमा चासो र चिन्ता ब्यक्त भइरहेको छ। एउटै वडाका दुई होनहार युवा गुमाउँदा धम्बोझी शोकमा डुबेको छ।’

शोकमा वडामा बिदा
नेपालगन्ज उपमहानगरपालिका–१ नम्बरले गत २४ भदौमा शोक विज्ञप्ति जारी गरी मृतकलाई श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। अकल्पनीय अविश्वसनीय घटनामा परि नेपालगन्ज १ निवासी नरेन्द्र श्रेष्ठका छोरा शुलभराज श्रेष्ठ (२३) र सुशील थापाका छोरा आयुष थापा (१९) ले सहादत प्राप्त गरेको विज्ञप्तिमा उल्लेख छ। वडा अध्यक्ष प्रमोद रिजाल र सदस्यहरूले संयुक्त हस्ताक्षर गरी प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, ‘देशमा भ्रष्टाचार अन्त्य भै सुशासन कायम भएको दिन मात्र उहाँहरू प्रति सच्चा सम्मान तथा न्याय हुनेछ। हाम्रो वडाका दुई होनहार युवा गुमाएका छांै उहाँहरूको देशलाई भ्रष्टाचार र कुशासन मुक्त बनाउने अभियान प्रति नमन गर्दै उहाँहरूको सम्झानामा आज २४ गते एक दिनका लागि वडा कार्यालय तथा वडाभित्र रहेको सम्पूर्ण विद्यालयहरूमा शोक बिदा गरिएको छ।’
चोकको नामाकरण माग
धम्बोझीका युवा पुस्ता आफ्ना टोलका युवाहरू आन्दोलनमा सहिद भएको भन्दै साबिक वीरेन्द्र चोकलाई धम्बोझी चौकलाई सुलभराज श्रेष्ठ चौक र पुष्पलाल चौकलार्ई आयुष थापा चोक घोषणा गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा अभियान सञ्चालन गरिरहेका छन्।
पुष्पलालको चोकमा रहेको पुष्पलाल श्रेष्ठको शालिक तोड्नु अघि आन्दोलनकारी जेनजीहरूले सुरुमा शालिक नभत्काएर पुष्पलालको मुखमा आयुषको फोटो राखेर चोक घोषणा पनि गरेका थिए। उनीहरूले सहिद आयुष जिन्दावादको नारा पनि लगाएका थिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ