कैलाली,५साउन।जीवनका उर्बर ४० वर्ष भारतमा मजदुरी गरेर बिताएका तुलाराम सुनारले पाँच महिनाअघि घर आउँदा भारत नफर्कने सोँचेका थिए । ढल्कदो उमेर र बढ्दो शारीरिक कमजोरीका कारण जस्तोसुकै काम पाए पनि गाउँमै बस्ने मनस्थिति बनाएर फर्केका ५७ वर्षीय सुनार त्रिनगर नाकाबाट भारत जाँदै थिए ।कैलालीको गोदावरी नगरपालिका–१२, ओलानी घर भएका उनी होटेलमा खाना पकाउने काम गर्न भारतको गुजरात जान लागेको हुन् । गाउँमा गुजारा गर्ने कुनै विकल्प नभेटिएपछि भारत फर्कन लागेको बाध्यता उनले सुनाए । ‘आफ्नो खेतीपाती छैन । केही काम नपाएपछि दाउरा बेचेर गुजारा गर्छु भन्दा पनि भएन ।’ उनले दुखेसो पोखे, ‘परिवार, केटाकेटी भोकै मर्छन् । उनीहरुका लागि पनि जानु प¥यो ।’
कैलालीको टीकापुरका जमाने बिक घरमा श्रीमती र नाबालक दुई छोराछोरी छोडेर मजदुरी गर्न भारतको हरिद्धार जाँदै गरेको भेटिए । केही महिनाअघि भारतबाट फर्केका उनले त्यसयता गाउँमै जीविकाका लागि धेरै प्रयास गरे । ज्यामी कामसमेत नपाएपछि लालाबाला छोडेर उनी भारत छिर्न लागेका हुन् । ‘पहिलोपटक मजदुरी गर्न भारत जाँदा झन्डै दश वर्षको थिएँ हुँला ।’ उनले मनको पीडा खोले, ‘उता हुन्जेल यसपटक घर पुगेपछि उतै केही न केही गर्छु, फर्किन्नँ भन्ने सोच्छु । तर, यहाँ आएपछि साँझबिहान छाक टार्नै मुस्किल पर्छ । अनि बाध्य भएर यसरी हिँड्नुपर्छ ।’
डोटीको निरौली घर भएका १८ वर्षीय दिनेश बोहराले परिवारको कमजोर आर्थिक अवस्थाले पढाइलाई निरन्तरता दिन सकेनन् । दुई वर्षअघि नौ कक्षामा पढाइ बीचमै छोडेर रोजगारको खोजीमा उनी भारत छिरे । त्यसयता घर आउने–जाने गरिरहेका बोहरा यसपालि गाउँकै युवाहरुसँग काम खोज्न भारतको सिम्ला जाँदै थिए ।सिम्लामा स्याउ बगैचामा मजदुरी काम पाउन सजिलो रहेकाले त्यहाँ जान लागेको उनले बताए । ‘मजदुरी गरेर दुई–चार पैसा कमाइ होला भनेर जान लागेको हुँ ।’ उनले भने, ‘खानलाउनको समस्या छ । नगएर पनि सुख छैन ।’कोरोना महामारीको अवस्था सामान्य नबन्दै सुदूरपश्चिमका नाकाबाट अहिले दैनिक सयौँ जना कामको खोजीमा भारत जान थालेका छन् ।
रोजगारी खोज्न भारत जानेको यहाँका नाकामा घुँइचो लाग्न थालेको छ । केही सातायता त्रिनगर नाकाबाट दैनिक दुई हजारभन्दा बढी कामको खोजीमा भारत गइरहेका छन् । भारत जानेको भीडमा युवामात्र छैनन्, १२–१३ वर्षका बालबालिका र ६०–६५ नाघेका वृद्धहरु पनि देखिन्छन् । नाबालक छोराछोरी काखी च्यापेर श्रीमान र आफन्तसँगै भारत जाने महिलाको संख्या पनि उत्तीकै हुन्छ ।त्रिनगरमै नाका पार गर्ने पर्खाइमा लामवद्ध सयौँको बीचमा भेटिए कैलालीको मसुरियाका १४ वर्षीय बिकास खाती । गाउँको शिवालेक आधारभूत विद्यालयमा आठ कक्षामा अध्ययनरत उनी विद्यालय खुल्ने अनिश्चित रहेकाले आफ्ना दाइसँग भारतको सिम्ला जान लागेका हुन् । घरमा आम्दानीको स्रोत केही नहुँदा खर्च चलाउन समस्या भएपछि सिम्लामा स्याउ टिप्ने काम गर्न जान लागेको उनले बताए ।करिब तीन महिनाजति स्याउ बगानमा मजदुरी गरेर दसैँमा घर फर्कने र त्यसपछि पढाइलाई निरन्तरता दिने उनको साँेच छ । विद्यालय बन्द रहेकाले चाडपर्व खर्च जुटाउन दाइसँगै भारत जान लागेको उनले बताए । ‘विद्यालय खुल्ने भन्छन् तर कहिले खुल्छ थाहा छैन, घरमा खाली बस्नुभन्दा उता गए दुई÷चार पैसा कमाउला ।’ बिकासले भने, ‘त्यो पैसाले दसैँमा लुगा किन्न र अरु खर्च चल्छ ।’ कैलालीको सुखडमा भुवन बिष्ट भारतको हरियाण फर्कदैछन् । त्यहाँ एउटा व्यापारीको घरमा कुकको काम गर्ने उनी छ महिनाअघि घर आएका थिए ।
कमाएर ल्याएको पैसा सकिएर आर्थिक समस्या हुन थालेपछि पहिलेकै काममा फर्कन लागेको उनले बताए । कमाएर ल्याएको पैसा सकिँदै गयो, काम पाइएन । ‘यता आएपछि धेरै ठाउँ काम खोजेँ, ज्यामी काम पनि पाइनँ,’ उनले भने, ‘ल्याएको पैसा सकियो । अब साँझ–बिहानको छाक नटर्ने स्थिति भयो । बाध्य भएर पहिलेकै काममा जाँदै छु ।’२२ वर्षीय उनी भारत जान थालेको आठ वर्ष भयो । स्थानीय छडि माविमा छ कक्षामा पढ्दै गर्दा छोडेर भारत पसेका उनले भारतका विभिन्न सहरमा मजदुरी गरे । ‘पढ्ने रहर हुँदाहुँदै गरिबीले पढाइ छोड्नु प¥यो ।’ बिष्टले दुखेसो पोखे, ‘पढ्न त पाइएन, मजदुरी गर्न पनि अर्काको देश जानुपर्ने ।’ आमाबुवा, भाइबहिनीसहित सात जनाको परिवारको दायित्व उनको काँधमा छ ।
अछामको कमलबजारका ६० वर्षीय हरि तिरुवा भारतको पुना जाँदै थिए । उनी यसअघि गर्दै आएको ‘वाचमेन’को काममा फर्कन लागेका हुन् । बाल्यावस्थामै कामको खोजीमा भारत छिरेका उनले जीवनको अधिकांश समय उतै मजदुरी गरेर बिताए । ‘पैसा नभइ घर चल्दैन, पैसा कमाउन भारत नगइ हुँदैन ।’ तिरुवाले भने, ‘यहाँ काम पाएको भए बुढेसकालमा किन अर्काको देश जानुपथ्र्यो ?’ कर्णाली प्रदेश, कालीकोट जिल्लाको राजकोटका ६० वर्षीय कालीबहादुर बिक केही महिना घरमा बेरोजगार बसे । गाउँमा मजदुरीको काम खोजे पाएनन् । छाक टार्नसमेत मुस्किल हुने अवस्थाले उनी बम्बैमा पहिलेकै चौकीदारी काममा फर्कदै छन् । ‘गुजारामात्र चलेको भए पनि जाने थिइनँ ।’ नाकामै भेटिएका कालीबहादुर भन्छन्, ‘गाउँमा जस्तोसुकै काम पाएको भए पनि गर्थेँ, बुढेसकाल लाग्यो, अब बम्बइ जाने रहर छैन ।’ घरमा बालक दुई छोरा, छोरी र श्रीमतीका लागि बम्बैइ जान लागेको उनले बताए ।
भीडले नाका पार गर्नै सास्ती
कोरोना महामारीको दोस्रो लहर फैलिएपछि त्रास र रोजगारी गुमाएर फर्केकाहरु स्वदेशमा काम नपाएर गुजारा गर्न समस्या हुन थालेपछि कामको खोजीमा पुनः भारत जान थालेका हुन् । सयौँको भीड हुने भएकाले दिउँसोको टन्टलापुर घाम र कहिले झरीले लाइनमा लागेका बृद्ध र दुधे बालक काखमा च्यापेका महिलाले झनै सास्ती खेप्नुपर्छ ।
‘चुनाव जितेर सांसद भए, कोही मन्त्री भए, गरिका लागि कसैले केही गरेनन् ।’ भारत जाँदै गरेका भानसिंह बिकले भने, ‘अहिले सुदूरपश्चिमकै नेता प्रधानमन्त्री भएका छन् । हाम्रा लागि केही गर्लान् भन्ने आशा छैन किनकी यसअघि पनि धेरै जना मन्त्री भए, मुख्यमन्त्री यहीका छन् । कसैले केही गरेका छैनन् । सबैले आफ्नो स्वार्थमात्र हेर्छन् । जनतालाई हेर्दैनन् ।’चुनावका बेलामात्र नेताहरुले रोजगारीको आश्वासन दिने गरेको र चुनाव जितेपछि गरिबका लागि कसैले केही नगरेको उनीहरुको गुनासो छ ।
‘भारत जाने सबैलाई रोक्न नसकिएला तर थोरैलाई भए पनि रोजगारी दिने कार्यक्रम कुनै तहका सरकारले ल्याउन सकेका छैनन् ।’ नाका पार गर्दै गरेका युवा जनक उपाध्यायले भने, ‘सरकारले केही गर्ने भए सामान्य कामका लागि पनि किन अर्काको देश जानुपथ्र्यो ?’ प्रजातन्त्र पुस्र्थापनापछि मुलुकमा कयौँ पटक सरकार फेरिएका छन् तर गरिबीका कारण भारत जानुपर्ने सुदूरपश्चिमेलीको नियति फेरिएको छैन । दुधे बालक काखी महिला, विद्यालय जानुपर्ने बालबालिका र जीवनको उत्तरार्धमा पुगेका वृद्धहरु काम खोजीमा भारत जान सीमा नाकामा लाइन लागेको दृश्यले जोकोहीको मन कुडिन्छ । पश्चिम टुडेबाट