कैलाली, २३ असोज । थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालले प्रथम जिल्ला भेलाबाट थारु समुदायलाई सशक्त बनाउनकोलागि अभियान सञ्चालन योजना ल्याएको छ ।
शनिवार धनगढीमा सम्पन्न भएको उक्त भेलाले थारु समुदायलाई एकजुट गराउन गाउँ गाउँमा शिक्षा, स्वास्थ्य र रोजगारीसंग सम्बन्धित सचेतनामूलक कार्यक्रम लिएर अभियान नै सञ्चालन गर्ने जनाएको छ ।
मोर्चाले थारु समुदाय भित्र तीब्ररुपमा देखिएको बालविबाह, सिकलसेल तथा आत्महत्या रोकथामकोलागि पनि अभियानको आवश्यकता महशुस गरेको निश्कर्ष निकालेको छ । साथै सो अभियानले जनगणनामा थारुहरुको थरमा एकरुपता कायम गर्न सकयोग पुग्ने बताएको छ ।
मोर्चाले जिल्ला भेलामा कार्यपत्र प्रस्तुत गर्दै थारु समुदायको सामुहिक देउथानको संरक्षण, पुर्खौदेखि चलि आएको भलमन्सा प्रथालाई कानूनी मान्यता दिलाउन स्थानीय तहसंग समन्वय र सहकार्य गरि पहल कदमीकोलागि दबाब दिने बताइएको छ ।
मोर्चाले टीकापुर घटनाबारे एकिकृत ढंगले राजनैतिकरुपले अगाडी बढाउन पहल गर्ने र भदौं ८ गतेको घटनामा संलग्न दोषीलाई कानूनी डायरामा ल्याइ कारबाहीको माग सहित सबै पालिका र प्रसाशनमा दबाब दिने बताएको छ ।
मोर्चाका जिल्ला संयोजक बालकृष्ण चौधरीको अध्यक्षतामा भएको सो भेलाले नेकपा माओवादी केन्द्रका प्रदेश सचिव तथा केन्द्रीय सदस्य नेपबहादुर चौधरी प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य वीर मान चौधरी, रुपा चौधरी, मोर्चाका केन्द्रीय महासचिव तथा केन्द्रीय सदस्य हरिराम चौधरी (उत्सव), माओवादी केन्द्रका जिल्ला अध्यक्ष लालबहादुर सोडारी, प्रदेश कमिटी सदस्य रमेश धामी, भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरी लगायतको उपस्थिति रहेको थियो ।