धनगढी,९ मंसिर । मापदण्ड अनुसार शैय्या नपुग्दा यस वर्ष सुदूरपश्चिम प्रदेशका ७ वटा नर्सिङ कलेजले अध्यापन अनुमति नपाउने भएका छन् । चिकित्सा शिक्षा ऐन २०७५ को मापदण्ड अनुसार कलेज सञ्चालनका लागी एक सय शैय्याको आफ्नै अस्पताल हुनपर्नेमा त्यस्तो नहुँदा प्रदेशका ७ वटा कलेजले अध्यापन अनुमती नपाएका हुन ।
यस अघि ५० शैय्याको अस्पताल भएका कलेजहरुले प्रति कलेज २० जना विद्यार्थी सिट पाउने गरेका थिए । एक सय शैय्या भएका आफ्नै अस्पताल भएका कलेजहरु नहुँदा यस वर्षबाट सुदूरपश्चिममा नर्सिङ पढ्न नपाइने भएको छ । कैलालीको फारवेस्ट टेक्निकल कलेज, नवजीवन कलेज अफ नर्सिङ एण्ड हेल्थ साइन्सेस्, पद्मा नर्सिङ कलेज, शैलेश्वरी फरवेस्ट स्कुल अफ हेल्थ साइन्स एण्ड टेक्नोलोजी र टीकापुर नर्सिङ क्याम्पसले अध्यापन गराउन नपाउने भएका छन् ।
यस्तै कञ्चनपुरको सेती महाकाली नर्सिङ क्याम्पस र डोटीको सुजङ हेल्थ एण्ड टेक्निकल एकेडेमीले पनि यस वर्ष प्रमाणपत्र तह पिसिएल नर्सिङ अध्यापन गराउन नपाउने भएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटी अन्तर्गत देशभर रहेका ११२ वटा नर्सिङ कलेज मध्ये यो वर्ष ४५ कलेजले मात्रै विद्यार्थी भर्नाका लागि सिट पाएका छन् ।