महेन्द्रनगर, ८ पुस । कृष्णपुर नगरपालिका–२ खल्लागोठको बालकल्याण आधारभुत विद्यालयले वर्षौदेखि लेखा परीक्षण नगराएको पाइएको छ । प्रत्येक वर्ष लेखा परीक्षण गराउनुपर्ने कानूनी प्रावधान भएपनि उक्त विद्यालयले ४ वर्षदेखि लेखा परीक्षण नगराएको हो ।
विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिले आर्थिक अनियमिता समेत गरेको स्थानीयको आरोप छ । वर्षोदेखि सधारणसभा तथा लेखा परीक्षण नगरी विद्यालयका पदाधिकारी र प्रधानाध्यापकले आर्थिक हिनामिना गरेको स्थानीय प्रकाशराज योगीले बताए ।
‘व्यवस्थापन समितिका पदाधिकारी र विद्यालयका शिक्षकहरुको लापरबाही देखिन्छ,’ उनले भने, ‘४ वर्षदेखि विद्यालयको रकम हिनामिना गरिरहेका छन् ।’ अहिले व्यवस्थापन समितिका पदाधिकारी र प्रधानाध्यापकले बिलहरु मिलाइरहेको उनी बताउँछन् ।
‘सयौंको संख्यामा नलेखिएका बिल राखेर हिसाब मिलाउँदै छन्,’ उनले भने, ‘गत मंसिर ३ गते लेखा समिती गठन भएपनि प्रधानाध्यापकका छोरीहरु बिल मिलाइरहेका छन् ।’ विद्यालयले वर्षौदेखि लेखा परीक्षण नगराएको भेटिएको कृष्णपुर नगरपालिका–२ का अध्यक्ष जयनारायण जोशीले बताए ।
‘यसमा नगरपालिकाको शिक्षा शाखाले पनि लापरबाही गरेको देखिन्छ,’ उनले भने, ‘लेखा परीक्षण नगराउँदासम्म शिक्षकहरुले तलब खान पाउँदैन्, यो कसरी सम्भव भयो रु यस विषयमा शिक्षा शाखाका कर्मचारीलाई सोध्छौं ।’
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र प्रधानाध्यापकलाई यर्थात कुरा बाहिर ल्याउन निर्देशन दिएको उनको भनाई छ । ‘हिसाबकिताब जस्ताको त्यस्तै सार्वजनिक गर्नुहोस् भनेका छौं,’ उनले भने, ‘चाडो लेखा परीक्षण गर्नु भनेको छु ।’
प्रधानाध्यापक मिनबहादुर धानुक बिरामी भएकाले समयमै लेखा परीक्षण गराउन नसकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छंगा रानाले बताए । ‘कोरोनाको कारणले पनि लेखा परीक्षण गराउन सकेनौं, त्यसपछि प्रधानाध्यापकनै बिरामी पर्नुभयो,’ उनले भने, ‘विद्यालयमा कुनै अनियमितता भएको छैन्, चाडै लेखा परीक्षण गराउँछौं ।’
विद्यालयको अनुगमन गर्ने कृष्णपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख विष्णुदत्त भट्टले बताए । ‘विद्यालयले लेखा परीक्षण नगराएकोबारे हामीलाई जानकारी थिएन,’ उनले भने, ‘प्रत्येक वर्ष हो लेखा परीक्षण गर्नुपर्ने । किन गराएन सोध्छौं ।’ साभार सिमारेखाबाट