धनगढी, १९ असार । मनसुन ढिलो शुरु हुँदा यस वर्ष असार १९ सम्ममा पनि कैलालीमा ४० प्रतिशत मात्रै रोपाइँ भएको छ । सिँचाइ असुविधाका कारण किसानले रोपाइँ ढिलो शुरु गरेका हुन् । जिल्लामा हालसम्म ४० प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रराज शर्माले जानकारी दिए । उनका अनुसार गतवर्ष यही समयमा आधासम्म रोपाइँ भइसकेको थियो ।
तर यसवर्ष ढिलोगरी मनसुन लागेकाले किसानले धेरै रोपाइँ गर्न सकेका छैनन् । यसैगरी, नियमित वर्षा नहुँदा उनीहरूले बोरिङको भरमा सिँचाइ गरेर रोपाइँ गर्नुपर्ने बाध्यता रहेको छ । कृषि ज्ञान केन्द्रका अनुसार यो जिल्लामा ६९ हजार हेक्टर जमिनमा बर्खे धानबालीको खेती हुने गरेको छ ।