हसुलिया, २३ चैत्र। कर्णाली प्रदेश सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको नयाँ गाउँ अवस्थित कर्णाली थारु होमस्टेमा पाँचौ राष्ट्रिय थारु साहित्य सम्मेलनको १० बुँदे घोषणा पत्र जारी गर्दै ५ औ राष्ट्रिय थारू साहित्य सम्मलेन सकियो।
दुई दिन सम्म चलेको सो सम्मेलनमा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देव कुमार सुवेदीले थारु भाषा साहित्य समृद्ध रहेको र संरक्षण गर्नका लागिपर्ने कुरामा जोड़ दिएका थिए । यसै गरि थारु समुदायलाई अगाडी बढाउनका लागि सामाजिक, शैक्षिक र साँस्कृतिक तथा स्वास्थ्य र रोजगार लगायतका क्षेत्रमा अगाडी बढ्नुपर्नेमा जोड दिएका थिए । साथै, डिजे जस्ता परसंस्कृति ग्रहण गर्नुभन्दाआफ्नो समृद्ध संस्कृतिको संरक्षण गर्नुपर्नेमा सुझाव दिएका थिए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका मातृभाषा साहित्य विभागका विभाग प्रमुख प्राज्ञ लक्ष्मीमालीले थारु समुदायले यस खाले साहित्य सम्मेलन गरेर थारु साहित्यको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने बताइन । नेपाल प्रज्ञा प्रतिष्ठानले हरेक बर्ष बिभिन्न सामुदायको मातृभाषाअन्तर्गतको पुरस्कार दिने गरेकोमा आगामी दिनमा थारु समुदायले पनि लिन सकोस् भन्ने शुभकामना दिएका थिए।

मध्यपश्चिम विश्वविद्यालयका पूर्व रजिष्टार एवं सुर्खेत शिक्षा क्याम्पसका उप.प्रध्यापक डा.महेन्द्र कुमार मल्लले साहित्य समाजको सर्वोक्तम शत्ति भएकोले साहित्यले समाजको संस्कृतिको उजागर गर्दछ । यसको लागि स्वयम् थारु साहित्यको विकास समृद्धिका लागि यो सम्मेलन महत्वपूर्ण रहेको बताए । विभिन्न जिल्लाबाट आएका थारु साहित्यकारको जमघटले सुर्खेतलाई एउटा ऊर्जाशील सन्देश दिने बताए थिए ।
कार्यक्रममा वरिष्ठ साहित्यकार महेश वित्रमशाह र आख्यानकार नयनराज पाण्डे सो सम्मेलनमाआख्यानको ओज विषयमा प्यानलिष्ट विज्ञ रुपमा प्यानलिष्ट छलफल गरी थारु साहित्यकार र गैर थारु साहित्यकारबिच अनुभवआदान प्रदानबाट लेखकहरुमा थप ऊर्जा प्राप्त भएको कुरा सम्मेलनका संयोजक मानबहादुर पन्नाले बताए ।

कार्यक्रममा थारु लेखक संघले थारु भाषा तथा साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै कथाकार शेखर दहितलाई पुरष्कृत गरेको थियो भने प्राज्ञ लक्ष्मीमालीलाई सम्मान गरेको थियो । यसैगरी, सुर्खेतमा थारु समुदायको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै समाजसेवीहरु मानवीर थारु, कृष्ण बहादुर थारु, जागुरामथारु र सरिता चौधरीलाई सम्मान गरिएको थियो। साथै, जंग्रार साहित्यिक बखेरीको १०औं बार्षिकोत्सवको अवसरमा आयोजना गरिएको निबन्ध, कथा र कविता लेखनमा उत्कृष्ट भएका स्रष्टाहरु शेखर दहित र हिमलाल थारुलाई समेत पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा थारु आयोगका माननीय सदस्य भोलाराम चौधरी, सुबोध सिंह थारु, थारु संस्कृतविद सुशिल चौधरी, भगवति चौधरी, थारु कल्याणकारिणी सभादाङका सभापति भुवन चौधरी लगायतका व्यक्तिले मन्तव्य दिएका थिए ।
सम्मेलन चैत २२ गतेसम्म चलेको थियो । आयोजक थारु लेखक संघ नेपालकाअध्यक्ष डा. कृष्णराज सर्वहारीले दुई दिनसम्म चलेको सम्मेलनमा थारु गीतको बाटो? थारु पहिचानको सवालमा साहित्य, थारु मानक भाषा लेखनशैली आदिबारे बहस छलफल भएको बताए ।

कार्यक्रम थारु लेखक संघको आयोजनामा रहेको कार्यक्रममा जंग्रार साहित्यिक बखेरी र थारु कल्याणकारिणी सभा, सुर्खेत सह आयोजक रहेका छन् भने नेपाल प्रज्ञा प्रतिष्ठान, एआइपीपी र युनिक नेपालले सहकार्य गरेका थिए। कार्यक्रममा विभिन्न जिल्लाबाट करिब २०० जना लेखक, साहित्यकार तथा गायकहरुको सहभागिता रहेको थियो ।

पाँचौँ राष्ट्रिय थारु साहित्यिक सम्मेलन सुर्खेत घोषणापत्र २०७७ को पूर्ण पाठ
पाँचौँ राष्ट्रिय थारु साहित्यिक सम्मेलन
सुर्खेत घोषणापत्र २०७७
चैत २१ र २२ गते
थारु लेखक संघ नेपालको आयोजना तथा थारु कल्याणकारिणी सभा सुर्खेत,जंग्रार साहित्यिक बेखरी, नेपाल प्रज्ञा प्रतिष्ठान, ए आइ पी पी, युनिक नेपालबर्दिया,थारु भाषातथा साहित्य संरक्षण मञ्च, दाङ,थारु पत्रकार संघ, मुल व्यवस्थापन समिति सुर्खेतको संयोजन र सहकार्यमा २०७७ चैत २१ र २२ गते कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेतमा भएको पाँचौ राष्ट्रिय थारु साहित्यि सम्मेलनका सबै सहभागीहरु प्रतिवद्ध भई १० बुँदे घोषणापत्र जारी गर्दछौ ।
१. थारु भाषाको मानकताको लागि सबै भाषाप्रेमी, लेखक, प्रकाशक, सम्पादकहरु एकवद्ध भएर कामगर्ने ।
२. थारु मातृभाषामा शिक्षाको लागि विद्यमान संवैधानिक र कानुनी प्रावधानको व्यावहारिक कार्यान्वयनको लागि सम्बन्धित निकायलाई दवावदिने ।
३. थारू लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नुका साथै र दस्तावेजीकरणका लागिकार्य गर्ने ।
४. थारु समुदायका विषयवस्तुहरु उठाउनुको साथै आख्यानविधामा स्रष्टाहरुलाई आकर्षित गर्ने खालकाकार्यक्रमहरु गर्ने ।
५. थारु भाष ार साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदानदिने स्रष्टाहरुलाई सम्मान र पुरस्कार स्थापना गरि सम्मानित र पुरस्कृत गर्ने ।
६. थारु मौलिक तथा लोकगीत संरक्षणका लागि कार्य गर्ने ।
७. थारु भाषाको विकासका लागि आफ्नो भाषा बोल्ने, लेख्ने र छाप्ने, छपाउने काममा आएको तीव्रतालाई निरन्तरता दिने ।सिर्जनशील लेखनलाई अघि बढाउने ।
८. भाषा, साहित्य विकासको लागि गठित नेपाल प्रज्ञा प्रतिष्ठान लगायत सरकारी निकायहरुमा पूर्ण समानुपातिक समावेशी प्रतिनिधित्वको लागि जोड्दार माग गर्ने ।
९. अगामी छैठौंराष्ट्रिय थारु साहित्यिकसम्मेलन कञ्चनपुपर जिल्लामा २०७८ चैत महिनामा आयोजना गरिने ।
१०.पाँचौ राष्ट्रिय थारु साहित्यि सम्मेलन भव्य, सभ्य एंव सफलतापूर्वक सम्पन्न गर्नमा सहयोग पुर्याउने स्थानीय निकाय, विभिन्न संघ संस्था, मिडिया तथा सञ्चारकर्मी, समाजसेवी, स्थानीयवासी तथा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने तथाविभिन्न जिल्लाबाट सहभागी सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्ने ।