606e4b1e6e2f8_madhav

डा. माधव अधिकारी

विपद् जोखिम व्यवस्थापनलाई विकासका योजनासँग मूल प्रवाहीकरण गरी उत्पादनशील समुदाय, समाजको दायित्वभित्र पार्न आवश्यक भएको छ ।
नेपालको राजधानी काठमाडौँ उपत्यका साथै तराईका क्षेत्र तथा पहाडी भू–भागहरू प्राकृतिक प्रकोपको व्यवस्थापनको दृष्टिले अति संवेदनशील क्षेत्र मानिन्छ । घना आवादी बढ्दै जानु, कमजोर किसिमले आधारभूत संरचनाहरू निर्माण हुनु, जाडो याममा शीतलहर र गर्मीमा आगलागी, वर्षायाममा बाढी पहिरोका समस्याका कारण यहाँको प्रकोप सङ्कटासन्नता तथा जोखिमको स्तर बढ्दै गएको पाइन्छ । भूकम्प, बाढी पहिरो, विस्फोट, आगलागी, सुक्खा, आँधिबेहरी, शीतलहर, चट्याङ, डढेलोजस्ता सम्भाव्य सबै प्रकारका विपद्जन्य अवस्थाको पूर्व सूचना, सङ्कटासन्न अवस्था तथा त्यस्ता क्षेत्रहरूमा रहेका जोखिम विवरण समुदाय र सरोकारवाला निकायहरूलाई उपलब्ध गराई सम्भाव्य विपद्बाट बचाउन पूर्वतयारीका लागि सङ्घ, प्रदेश र स्थानीय तहमा सोसम्बन्धी कार्य गर्न आवश्यक छ ।
२०७७ चैत १२ गते बिहीबार एकै दिन ४७ जिल्लामा चारसय ७९ ठाउँमा डढेलो लाग्यो । नासाको मोडिस प्रविधिले खिचेको डढेलोको तस्बिर विश्लेषण गर्दा यति डढेलो विगतमा कहिल्यै लागेको थिएन् । मध्य फागुनदेखि वैशाखसम्म अत्यधिक डढेलो लाग्ने गर्छ । तर यो वर्ष उच्चपहाडी क्षेत्रमा कात्तिकदेखि नै डढेलो लाग्न सुरु भएको थियो । गत वर्ष कात्तिकदेखि चैत १२ गतेसम्म १६५ ठाउँमा डढेलो लागेको थियो । यो वर्ष सो अवधिमा २८७ स्थानमा डढेलो लाग्यो । चैत १३ गते शुक्रबार बिहानसम्म सफा रहेको काठमाडौँको वायुमण्डल अपराह्नपछि एकाएक धुमलिन पुग्यो । क्षणभरमै तुँवालोले भरियो । भिजिविलिटि (दृष्यक्षेत्र) झट्टै घटेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपराह्नपछि हवाई सेवासमेत रोकिएको थियो । घरबाहिर निस्केका सर्वसाधारणले आँखा पोलेको महसुस गरे । विश्व स्वास्थ्य सङ्गठनले वायुको गुणस्तर सूचकाङ्क ३०० भन्दा बढी भएका घातक भनेको छ । उपत्यकामा त्यो शुक्रबार सूचकाङ्क ४७० सम्म रेकर्ड हुनु पुग्यो ।
केही दिन यता देशका विभिन्न भागमा डढेलोले उग्र रूप लिएपछि काठमाडौँसहित देशभरको वायुमण्डलमा वायुको गुणस्तर सूचकाङ्क पनि अत्यधिक बढ्यो । वातावरण विभागका अनुसार ललितपुरको भैँसेपाटीमा चैत १३ गते दिउँसो वायुको गुणस्तर सूचकाङ्क ४७० सम्म पुग्यो । भक्तपुरमा ३०५, सिमरामा २४८, कीर्तिपुरमा २३१, दमकमा १९७, रत्नपार्कमा १७९, पोखरामा १६०, धनगढीमा १५९, हेटौँडामा १५२ पुगेको थियो । काठमाडौँमा वायु प्रदूषणको मात्रा डब्लुएचओको मापदण्डभन्दा ५ गुणा बढी छ ।
एक्यूआईले वायुमा हुने आँखाले देख्न नसकिने पीएम १० र २.५ माइक्रोग्रामभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । एक्यूआई बढ्दै गएपछि जोखिम पनि बढ्छ, एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ मानिन्छ, जाडो महिनामा यो बढ्दै जान्छ, यो वर्ष अलि बढी नै देखिएको छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५१ देखि १ सयसम्मको एक्यूआईलाई सामान्य मानिन्छ । एक्यूआई दुईसय एकभन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ । तीनसय एकभन्दा माथि पुगे घातक हुन्छ । यतिखेर एकाएक प्रदूषण बढेपछि स्वीटजरल्यान्डमा मुख्यालय रहेको ‘आईक्यु एअर’ ले काठमाडौँलाई विश्वका ९४ प्रदूषित सहरमध्ये अग्र स्थानमा राख्यो ।
सरकारले गत वर्ष स्वीकृत गरेको काठमाडौँ उपत्यका वायु गुणस्तर कार्ययोजनामा एक्युआई तीनसय नाघे विपद्को रूप लिने भनिएको छ । जाडो याम बढेसँगै आगो ताप्न जथाभावी फोहोर जलाउने तथा आगो बाल्ने अनि गर्मी अनेक कारणले गर्दा पनि आगलागी तथा डढेलोजस्ता विपद्को सामना गर्नुपरेको छ । यतिखेरको वायु प्रदूषणको प्रमुख कारण आगलागी, डढेलोलाई
मानिएको छ ।
तर आगलागी, डढेलो नियन्त्रणका लागि आवश्यक दमकल राजधानी उपत्यकामै अभाव छ भने अग्निनियन्त्रक हवाईजहाज, हेलिकप्टरको कल्पना त ठट्टाकै विषय हुनसक्छ ।
केही तथ्य र तथ्याङ्कहरूका आधारमा नेपाल विश्वमा विपद् जोखिमको नक्साङ्कनमा बीसौं स्थानमा रहेको छ भने नेपाललाई पहिरो र बाढीजस्ता जलजन्य प्रकोपको जोखिमको दृष्टिकोणबाट तीसांै स्थानमा राखिएको छ । काठमाडौँ उपत्यकालगायत नेपालको पहाडी र हिमाली भाग तथा भूकम्पीय प्रभावका दृष्टिबाट प्रथम जोखिमपूर्ण स्थानमा छ ।
नेपालको सम्पूर्ण भूभाग भूकम्प जाने सम्भावित क्षेत्रभित्र पर्छ भने मध्य भूभाग अति जोखिम क्षेत्रभित्र पर्छ । जलवायु परिवर्तनको कारणले नेपालमा नियमित रूपमा वर्षा हुँदैन । कहिले भारी वर्षा कहिले अनावृष्टि हुने खतरा छ भने कमजोर र भिरालो धरातलीय कारणबाट भूक्षय भई नेपालको अधिकांश तराई भू–भागमा बाढीले सताउने गरेको छ । अर्कोतर्फ वन जङ्गलको विनास, प्रकृतिक स्रोतहरू पानी, ढुङ्गा, वालुवा आदिको अनियन्त्रित दोहन तथा अव्यवस्थित बसोवासले धेरै विपद् निम्त्याएको छ । यसले राष्ट्रको करोडौँ आर्थिक धनराशि खेर गएको छ ।
आगजनीतर्फ विशेष गरी तराईमा गर्मीको मौसममा तापक्रम ४५ डिग्री सेल्सियससम्म पुग्ने भएकाले ग्रामीण बस्तीहरूमा आगलागी ठूलो समस्याको रूपमा रहेका छ भने जाडो महिनामा शीतलहरको उच्च जोखिम रेहेको छ । नेपालमा यस्ता विपद्सँग जुध्न सक्ने क्षमताको विकास र पूर्वतयारीजस्ता कार्यमा सारभूत रूपमा ठोस कार्य अझै हुन सकेको छैन ।
नेपालमा प्रकोप बढी आउनुमा मानवीय र प्राकृतिक कारण नै प्रमुख रूपमा रहेका छन् । वनविनाश, अव्यवस्थित बसोवास, जनचेतनाको कमी, नदीमाथिको दोहन, जथाभावी चरिचरणले गर्दा विभिन्न विपद् आएको, त्यसबाट प्रशस्त धनमालको क्षति भएको छ । सो निराकरणका लागि विपद्का प्रतिकार्य तथा पूर्व तयारी योजना निर्माणमा सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका, सरोकारवालाहरू तथा साझेदार संस्थाका दायित्व रहन्छ । ऐनअनुसार सबै निकायमा रहेको विपद् व्यवस्थापन समितिले प्रभावित क्षेत्रमा योजना तयार गरी कार्यान्वयन गरी उद्धार र राहतको व्यवस्था मिलाउनु अति आवश्यक छ ।
विपद्का समयमा प्रभावित तथा पीडित समुदायलाई उपलब्ध गराउन मानवीय सहयोगका विभिन्न क्षेत्र हुन्छन् । पीडितहरूलाई जीवनयापनका आधारभूत आवश्यकताका पूर्ति गर्न, खाद्यान्न, आवास, खानेपानी, सरसफाइ तथा स्वास्थ्य प्रवद्र्धन, सुरक्षाजस्ता विषयमा विशेषज्ञता हासिल गरेका समूहहरूले आफ्नै क्षेत्रका जिम्मेवारी लिँदा मानवीय सहयोगका कार्य व्यवस्थित हुन आवश्यक छ । विभिन्न सरकारी निकाय तथा गैरसरकारी संस्थाहरू, स्थानीय सरकारहरूको समन्वय र सहकार्यमा विपद्हरूको सामना गर्न सहज हुन्छ । एम्बुलेन्स, यातायातका साधनहरू, खानेपानी व्यवस्थापन, पर्याप्त मात्रामा स्वास्थ्यकर्मी, तालिम प्राप्त स्वयंसेवक, खाद्यान्न आदि जस्ता स्रोतहरूको पहिचान र सूचीकरण गरी ती वस्तु तथा सेवाहरूको प्रबन्ध गरिनुपर्छ ।
स्थानीय स्तरमा विपद् व्यवस्थापनको कार्य सञ्चालनको नेतृत्वदायी जिम्मेवारी स्थानीय तहमा नै हुन्छ । विपद् व्यवस्थापन कार्यलाई सहज बनाउन नेपाल सरकारले केन्द्र र प्रदेश तहमा कार्य गर्ने गरी राहत सहयोग, क्षतिपूर्ति व्यवस्थापनलगायतका विषयमा दिग्दर्शनहरू जारी गरेको पाइन्छ तैपनि आवश्यकअनुसार प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाल रेडक्रसका आ–आफ्नै दिग्दर्शन र कार्ययोजनाहरू अनुसार विपद् व्यवस्थापनमा खटिन्छन् तर तिनको संयोजन र उचित किसिमको समन्वय नभई प्रभावकारी कार्यान्वयनमा कठिनाइ भएको पाइन्छ ।
प्रकोपको समस्या समाधान गर्न स्थानीय निकायले आफ्नो क्षेत्रमा बन जङ्गलको संरक्षणमा विशेष ध्यान दिई व्यवस्थित रूपले नदीबाट उचित मात्रामा गिट्टी बालुवा निकाल्ने तथा कृषि÷वन सम्बन्धमा संयुक्त परियोजना सञ्चालन गर्दै बढी से बढी मात्रामा वृक्षरोपण तथा संरक्षणको कार्य गर्नुपर्छ । नदी अतिक्रमण, सार्वजनिक जग्गा, काटो, पाटीपौवा, ढल, कुवा आदि अतिक्रमण गर्दा कति अप्ठ्यारो हुँदोरहेछ भन्ने यतिखेरको अवस्थाले पनि देखाएको छ । पानीको स्रोत कम हुँदै जाँदा आगलागी नियन्त्रण गर्न पानीको अभाव भएको छ । खोला नाला नियन्त्रण गर्ने, उचित स्थानमा बस्ती बसाउने, विकास निर्माणका योजना वातावरण मैत्री बनाउनुपर्छ । विपद्को प्रभाव न्यून गर्न विपद्का लागि पूर्व तयारी गर्ने समुदायलाई प्रकोप बहन गर्न सक्षम बनाउने तथा हरेक वडामा विपद् व्यवस्थापन योजना बनाउन आवश्यक देखिन्छ । अति आवश्यक सेवालाई चुस्त बनाउँदै विपद्को बारेमा शिक्षा दिने र लिने, क्षमता वृद्धि गर्ने, स्रोत साधन परिचालन गरी विपद् व्यवस्थापनका कार्य व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्छ ।(गोरखापत्रबाट)
(लेखक विपद् जोखिम व्यवस्थापनसम्बन्धी अध्ययन अनुसन्धानमा संलग्न हुनुहुन्छ ।)

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ