हसुलिया,१४ वैशाख । कैलालीको कैलारी गाउँपालिका–७ का वडा कार्यालयका वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता कमल प्रसाद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएकोे छ । वडा अध्यक्ष चौधरीसहित दुई जना वडा सदस्यहरुमा पनि कोरोना पुष्टि भएको हो ।
मङ्गलबार एन्टिजेन विधिबाट वडा अध्यक्ष र दुई जना वडा सदस्य गरी तीन जनाको परीक्षण गर्दा तिनैलाई कोरोना सङ्क्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले जानकारी दिए ।
सोमबारमात्रै सो वडामा कार्यरत कर्मचारीलाई कोरोना पुष्टि भएको थियो । ज्वरो, रुखाखोकी लक्षण देखिएपछि जनप्रतिनिधि र कर्मचारीको स्वास्थ्य परीक्षण गरिएको गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी कुसुम चौधरीले बताए । ‘त्यस्तै समस्या भएका ३५(४० जना पनि परीक्षण गराउनका लागि आएका थिए’, उनले भने । ‘तर, हामीसंग तीन वटामात्रै एन्टिजेन किट रहेकाले अरुलाई फिर्ता पठायौं ।’ एन्टिजेन किट नहुँदा परीक्षणमा समस्या भएको चौधरीले बताए ।
सो गाउँपालिकामा तीन दिनको अवधिमा विद्यार्थी, शिक्षिकासहित २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गाउँपालिकाको विभिन्न गाउँमा ज्वरो, रुघाखोकी, टाउको दुख्ने जस्ता समस्या भएका बिरामी थुप्रै रहेका जनाइएको छ । तर, परीक्षणको लागि किट अभाव छ ।
गाउँपालिकामा पछिल्लो समय कोरोना सङ्क्रमण बढेको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले बताए । उनले स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै अब पीसीआर विधिबाट परीक्षणका लागि स्वाब संकलन गरिने बताए । ‘एन्टिजेन किट बजारमा मिल्दैन । तर, पीसीआर परीक्षणका लागि बजारमा पनि भीटीएम पाउँछ’, उनले भने । ‘अब पीसीआर परीक्षणका लागि स्वाब कलेक्सन गर्छौ ।’
यसैगरी, मंगलबार बसेको गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले भीटीएम र अक्सिजन सिलिण्डर जिल्लाबाट माग गर्ने निर्णय गरेको छ । यस्तै, आइसोलेसन र हरेक वडामा क्वारेन्टाइन व्यवस्थापन गर्ने निर्णय गरेको छ । ‘जिल्ला प्रशासन कार्यालयले गरेको निर्णयलाई कार्यान्वयन गर्दै पहिले जस्तै हरेक वडामा स्कुलमा क्वारेन्टाइन बनाउँछौं’, अध्यक्ष चौधरीले भने।
यसैगरी, गाउँपालिकामा कोरोना जोखिमबाट जोगिन र स्वास्थ्य सुरक्षाको मापदण्ड पालनका लागि जनप्रतिनिधिले जनचेतना जगाउने निर्णयसमेत गरिएको जनाइएको छ । वडा नम्बर ७ का कर्मचारी र जनप्रतिनिधि सङ्क्रमित भएपछि केही दिनसम्म सो वडावासीलाई सेवा दिने जिम्मेवारी वडा नम्बर ५ को सचिवलाई दिइएको छ । पश्चिम टुडेबाट