धनगढी,१५ बैशाख । कैलालीमा बैशाख १६ गते अर्थात (भोली) देखि एक हप्ताको लागि निषेधाज्ञा हुने भएको छ । जिल्लामा फैलिरहेको संक्रमण दर र मृत्युदरलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीले एक हप्ता निषेधाज्ञा जारी गरेको हो।
प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षमा मंगलबार बसेको केन्द्रको बैठकले सो निर्णय गरेको हो।निषेधाज्ञा बैशाख १६ गते बिहान ६ बजेदेखि बैशाख २२ गते राती १२ बजे सम्म लागु हुने प्रशासनले जनाएको छ । उक्त अवधिमा अत्यावश्यक सेवाबाहेकका सबै बन्द रहने जनाएका छन्।
के गर्न पाउने के नपाउने ?
निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक सबै सवारी साधन बन्द रहने छन्। अत्यावश्यक सवारी साधन जस्तै एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेको सवारी साधन, दुग्जन्य पदार्थ बोकेको सवारी, बैंक तथा बित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइशोलेसनका सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन हुनेछन्।
खाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्रीका पसल बाहेक सबै पसल बन्द रहनेछन्। खाद्य सामग्रीका पसलहरु बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मात्रै खोल्न पाइने छ।
सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भिडभाड हुने स्थान बन्द रहनेछन्। विवाह व्रतबन्धको हकमा जिल्ला प्रशासनबाट पूर्व स्वीकृति लिएर स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १५ जनासम्म मात्रै भेला हुन पाउने छन्।


यस्तै नेपाल सरकारका कर्मचारी, बैंक बित्तीय संस्था तथा अन्य अत्यावश्यक कार्यालयका कर्मचारीले कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन्। पत्रकारको हकमा भने सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन्।