धनगढ़ी, १० जेठ। संघीय सरकारले दिएको अनुदान समेत गरेर चालु र पुँजीगततर्फ ३४ अर्ब २० करोड ९७ लाख स्वीकृत बजेट रहेकोमा प्रदेश सरकारले चालु आर्थिक वर्ष सकिन दुई महिना मात्र बाँकी रहेका बेला न्यून बजेट खर्च गरेको छ ।
प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार चालु वर्षको साउनदेखि वैशाख मसान्तसम्म सरकारले ११ अर्ब ४१ करोड बजेट मात्रै खर्च गर्न सकेको छ । जुन कुल विनियोजित बजेटको ३३ दशमलव ३८ प्रतिशत मात्र हो । चालु खर्चको तुलनामा अझ विकास बजेट २ प्रतिशतले कम छ ।
चालुतर्फ १६ अर्ब ३२ करोड १९ लाख बजेट रहेकोमा ५ अर्ब ५८ करोड ६५ लाख खर्च गरेर ३४ दशमलव २३ प्रतिशत प्रगति भएको छ । पुँजीगततर्फ १७ अर्ब ८८ करोड ७७ लाख बजेट विनियोजन गरिएकोमा ५ अर्ब ८३ करोड ३१ लख खर्च गर्दै ३२ दशमलव ६१ प्रतिशत प्रगति गरेको छ ।
सबैभन्दा धेरै १२ अर्ब १७ करोड २२ लाख वार्षिक स्वीकृत बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले ३८ प्रतिशत बजेट खर्च गरेको पाइएको छ । प्रदेश लेखा नियन्त्रण कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार पूर्वाधार विकास मन्त्रालयले चालु र विकासतर्फ विनियोजित बजेटमध्ये ४ अर्ब ६८ करोड खर्च गर्दै ३८ दशमलव ३७ प्रतिशत प्रगति गरेको हो ।
तर मन्त्रालयको पुँजीगत बजेट खर्च भने ३७ दशमलव ७५ प्रतिशत प्रगति गर्दै ४ अर्ब ४५ करोड खर्च गरेको छ । ७ अर्ब बजेट रहेको सामाजिक विकास मन्त्रालयले २ अर्ब ७८ करोड खर्च गरेको छ । जुन ३९ दशमलव ४० प्रतिशत हो । ३ अर्ब ५४ करोड ९७ लाख बजेट रहेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ९५ करोड खर्च गरेर २८ दशमलव १४ प्रतिशत, २ अर्ब ७२ लाख ५४ हजार बजेट रहेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ९७ करोड खर्च गर्दै ३५ दशमलव ७१ प्रतिशत प्रगति गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
एक अर्ब ९० लाख बजेट रहेको आर्थिक मामिला तथा योजना मन्त्रालयले ३ करोड ५४ लाख खर्चिंदै २ दशमलव २३ प्रतिशत प्रगति गरेको छ । ७० करोड ३८ लाख बजेट रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ११ करोड ४० लाख खर्च गरेको छ । जुन १६ दशमलव २१ प्रतिशत हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयले ६३ करोड ९३ लाखमध्ये १४ करोड १५ लाख खर्च गर्दै २२ प्रतिशत प्रगति हासिल गरेको छ ।
सरकार भन्छ– अहिलेको प्रगति सन्तोषजनक
चालु आर्थिक वर्ष सकिन जेठ र असार गरेर दुई महिना बाँकी छ । सिंगो मुलुक नै दोस्रो लहरको कोरोना भाइरससँग जुधिरहेका बेला बितेका १० महिनामा सुदूरपश्चिम प्रदेश सरकारले निकै न्यून ३३ प्रतिशत बजेट मात्र खर्च गर्न सकेको छ । जबकि यो अवधिमा पहिलो लहरको संक्रमणको मत्थर भइसकेको थियो ।
यति हुँदाहुँदै पनि सरकारले विकास निर्माणका कामलाई तीव्रता दिन नसकेकै कारण बजेट खर्च पनि कछुवा गतिमै सीमित रह्यो । तर आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव झलकराम अधिकारी ठूला पूर्वाधारका योजनामा प्रगति भएपनि भुक्तानी नभएका कारण आर्थिक प्रगति कम देखिएको बताउँछन् । सोही कारण अहिलेको प्रगतिलाई सन्तोषजनक मान्न सकिने उनको तर्क छ ।
‘भौतिक पूर्वाधार विकास मन्त्रालयले कार्यान्वयन गरिरहेका प्रदेश गौरवका आयोजना लगायतका ठूला योजनाको काम फिल्डमा भएको छ,’ उनले भने, ‘तर कतिपय योजनामा भुक्तानी गर्न बाँकी रहेकाले आर्थिक प्रगति कम देखिएको हो । अन्तिममा आएर भुक्तानी दिँदा प्रगति बढि देखिन्छ ।’
बाहिर दाबी गरिएजस्तो असार विकासको प्रवृत्ति भन्दा पनि काम पहिल्यै भएर भुक्तानी ढिलो गर्ने परिपाटी रहेको उनको दाबी छ । हाल ३३ प्रतिशत मात्र प्रगती गरेको सरकारले दुई महिनामा सोही हाराहारीमा प्रगति गर्न सकिने जनाएको छ । मन्त्रालयका सचिव अधिकारीले अघिल्लो वर्ष ६३ प्रतिशत बजेट खर्च भएको स्मरण गर्दै चालु वर्षमा पनि ६३ देखि ६८ प्रतिशत खर्च हुने विश्वास व्यक्त गरे ।पश्चिम टुडे