धनगढ़ी२५ जेठ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत लिदैं छन् । बिहान ९ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिने प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए ।
मुख्यमन्त्रीले प्रदेशसभामा पेश गरेको विश्वासको प्रस्तावको पक्ष, विपक्ष र तटस्थ बस्ने प्रदेशसभा सदस्यका लागि समेत छुट्टाछुट्टै मत खसाल्ने व्यवस्था गरिएको धामीले जानकारी दिए । मुख्यमन्त्री भट्टले संविधानको धारा १८८ बमोजिम विश्वासको मत लिन आइतबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए ।
अहिले सरकारलाई समर्थन जारी राखेको एमाले माधव पक्षको साथ पाउनेमा मुख्यमन्त्री भट्ट विश्वस्त छन् । हाल प्रदेश सभामा सभामुखबाहेक २४ जना सदस्य रहेको एमालेमा माधव पक्षमा १५ जना रहेका छन् । ओली पक्षमा ६ जना छन् । बाँकी तीन जना अहिले तटस्थ बसेका छन् ।
यसअघि माधव समूहमा रहेका सांसद तारा लामा तामाङ, कुलवीर चौधरी र बलदेव रेग्मी मन्त्रिमण्डल विस्तार भएयता असन्तुष्ट रहँदै तटस्थ बसेका हुन् । उनीहरु माधव पक्ष र ओली पक्ष कुनैमा पनि खुलेको अवस्था छैन । यद्यपी ओली पक्षले तीन जना सांसद आफूतिर आएको दाबी गरिरहेका छन् ।
तीन जना तटस्थ वा ओली खेमा लागे पनि माधव पक्षका १५ जनाको साथ पाएको खण्डमा मुख्यमन्त्री भट्टको पद जोगिने देखिन्छ ।
जम्मा ५२ सदस्यीय प्रदेशसभा सरकार गठनका लागि २७ सांसद पुग्नुपर्छ । यो समीकरण पूरा गर्न माधव पक्षका १५ र माओवादी केन्द्रका १३ गरी २८ जना सांसद पुग्छन् । यसरी सरकारलाई विश्वासको मत प्राप्त हुन्छ । जनता समाजवादी पार्टीका दुई जना सांसद केन्द्रमा तत्कालीन राजपा पक्षका हुन् । केन्द्रमा सरकारलाई समर्थन गरेकाले यहाँ पनि सोहीअनुसार निर्णय हुनसक्ने देखिएको छ ।