कञ्चनपुर १८ असार । कञ्चनपुरको बेलौरी नगरपालिका र बेल्डाँडी गाउँपालिकामा पर्ने नेपाल–भारत सीमा क्षेत्रमा अहिले दिनहुँजसो चोरीका घटना हुन थालेको बताइएको छ । चोरीसँगै त्रास बढेको स्थानीय बताउँछन् ।
पछिल्लो ६ महिनायता धनसम्पत्ति, गाईभैँसी, भाँडाकुँडा, अन्नबालीलगायत चोरीका घटना बढेको स्थानीय कृष्णदत्त पन्तले बताए । दक्षिण क्षेत्रको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलका १० वटा बोर्डर आउट पोस्ट (बीओपी) रहेका छन् । पोस्टमा करिब ३५० जना जनशक्ति हुनुपर्नेमा अहिले आधा मात्रै जनशक्ति हुँदा सीमा सुरक्षा व्यवस्थापनमा असहज भएको सशस्त्र प्रहरीले जनाएको छ ।सीमा क्षेत्रमा हुने चोरी–तस्करीका घटनाले स्थानीय आजित बनेको स्थानीय हरिश पन्त बताउँछन् । चोरी–तस्करीका घटना नियन्त्रण गर्न र स्थानीयको सुरक्षाका लागि तदारुकता देखाउन सुरक्षा निकायका प्रमुखहरुलाई बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीले आग्रह गरेका छन् ।