मान बहादुर चौधरी,२३ असार: कञ्चनपुरको बेलौरी नगरपालिकास्थित उत्तरी क्षेत्र आसपासका केही बस्तीहरूमा जङ्गली हात्तीको बथान प्रवेश गरेको छ।
‘१५ देखि २० वटासम्मको सङ्ख्यामा रहेका जङ्गली हात्तीहरूले किसानले लगाएका बालीनालीमा क्षति पु¥याएको छ। मंगलबार साँझ ६ बजेको समयमा १२ जना मजदुरहरू ज्याला मजदुरी गरेर आफ्नो घर फर्किरहेको समयमा जङ्गली हात्तीको बथानले आक्रमण गर्न खोजेको तर मजदुरहरू भागेर ज्यान जोगाउन सफल भएका छन्,’ उनले भने। मानव बस्तीमै जङ्गली हात्ती पसिसकेकोले सतर्कता अपनाउन आम नागरिकलाई अनुरोध गरिएको छ।
बेलौरी नगरपालिका–९ को गोरखनाथ सामुदायिक बन क्षेत्रको आसपासका मानव बस्तीमा हात्तीको बथान प्रवेश गरेका हो। हात्तीको बथान बुधबार बिहानसम्म रामघाट सामुदायिक बन र सिंहपाल सामुदायिक वन आसपासका बस्तीमा समेत पुगेको कुण्डा सब डिभिजन बन कार्यालय पचकडीयाका प्रमुख दिनेशकुमार यादवले बताए।
वन प्रशासन, नेपाल प्रहरी र सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरू थप क्षति हुन नदिन सक्रिय भएका हुन्। हात्तीको बथान बस्ती आसपास पुगेको खबर पाउनासाथ मंगलबार साँझदेखि नै इलाका प्रहरी कार्यालय बेलौरी र मातहतबाट प्रहरी टोली खटिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काले बताए।