धनगढी, ११ भदौ। धनगढी–राजघाट जोड्ने स्काई फोल्डिङ पुल भत्काएको छ। ‘पानीको बहाव अहिले पनि कम भएको छैन। धनगढी–राजघाट जोड्ने स्काई फोल्डिङ पुल पनि भत्काएको छ,’ स्थानीय छोटु चौधरीले भने। अर्का स्थानीय शिवराज अवस्थीका अनुसार धनगढीदेखि राजघाटन जोड्ने पक्की पुलबाट पनि आवागमन अवरुद्ध भएको छ। ‘पुलको निर्माण सम्पन्न नभए पनि माटो भरान गरेर सोही पुल भएर आवागमन हुने गरेको थियो। तर भरान गरिएको माटो बगाएको छ। आवतजावत नै ठप्प भएको छ,’ अवस्थीले भने।
कैलालीको सीमाना भएर बग्ने मोहना नदीमा बाढी आएको छ। चुरे क्षेत्रमा भएको भारी वर्षापछि मोहना नदीमा बाढी आएको हो। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार राति मोहना नदीले खतराको सतह पार गरेको थियो।
राति नदीको बहाव झण्डै चार मिटर पुगेको थियो,’ जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने, ‘अहिले भने बहाव सामान्य बन्दै गएको छ। साढे २ मिटरमा झरेको छ।’ चुरे क्षेत्रमा अहिले पनि वर्षा जारी भएकोले सतर्क रहन नदी आसपासक बासिन्दालाई प्रशासनले आग्रह गरेको छ।
यस्तै बाढी पूर्वानुमान महाशाखाले कर्णाली, महाकाली र यसका सहायक नदीहरूमा बहाव बढ्ने जनाएको छ। मध्यपहाड, चुरे र तराई भएर बग्ने स–साना नदीमा बहाव बढेकोले तटिय क्षेत्रबा बासिन्दालाई महाशाखाले आग्रह गरेको छ।