615e6900d2792_605c5bcf7fcbb_Koronako_darle_farkine_nepaliko_larko_111

महेन्द्रनगर, असोज २५ गते । पछिल्लो समय भारतबाट नेपाल फर्किनेहरूको लर्को नै लागेको छ । दशैं–तिहारलगायतका चाडपर्व मनाउनका लागि सुदूरपश्चिमका प्रमुख नाकाबाट स्वदेश फर्किनेको लर्को लागेको हो ।

सुदूरपश्चिमेलीको रोजगारीको प्रमुख गन्तव्य भारतका विभिन्न सहरबाट चाडपर्व मनाउन यहाँको गड्डाचौकी र गौरीफन्टा नाकाबाट स्वदेश फर्किनेको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको प्रहरीले जनाएको छ ।

बितेको दुई सातायतायता कञ्चनपुरको गड्डाचौकीबाट २४ हजार र गौरीफन्टा नाकाबाट दश हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । स्वदेश फर्किनेको भीड बढेपछि प्रहरीले सीमा क्षेत्रको सुरक्षा सर्तकता बढाएको छ । “गड्डडाचौकी नाकाबाट मात्रै दैनिक एक हजारदेखि एक हजार ५०० जनासम्म भित्रिएको तथ्याङ्क छ”, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले भन्नुभयो, “नाकामा भीडभाड बढेपछि सुरक्षा बढाउनुका साथै यात्रुको सहजतामा ध्यान दिएका छौं ।”

गड्डाचौकी नाकामा सुरक्षाका दृष्टिकोणले कुकुर परिचालन गरेर निगरानी बढाइएको छ । भने यात्रुको सहजताका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले चाडपर्वका बेला हुनसक्ने आपाराधिक गतिविधि नियन्त्रणका लागि चाडपर्व लक्षित सुरक्षा योजनासमेत बनाएर शान्ति सुरक्षाका लागि खटिएको छ ।

त्यसैगरी डोकेबजारस्थित प्रहरीचौकी पचगडियाका प्रहरी नायब निरीक्षक दिपेन्द्र थापाले चाडपर्व मनाउन स्वदेश फर्किने क्रम यहाँबाट पनि बढेको बताउनुभयो । सो नाकाबाट दैनिक पाँच सयदेखि एक हजार ४०० सम्म दैनिक भित्रिएको तथ्याङ्कले देखाएको छ ।

भारतको दिल्ली, मुम्बै, महाराष्ट्र, पञ्जा, पुना, बैङ्लोर, सिमला, हरिद्धारलगायतका सहरमा नेपाली रोजगारीका लागि सदियौंदेखि आउने जाने गरेका छन् । त्यसैगरी भारतबाट घर फर्किनेबाट कोभिड सङ्क्रमणको जोखिम रहेकाले जिल्ला स्वास्थ्य कार्यालयले सीमामा परीक्षण र खोप लगाउने कामलाई अघि बढाएको छ । “नाकामा कोरोना परीक्षण गर्ने र सङ्क्रमण देखिए आइसोलेसनमा आश्रय दिने गरिएको छ”, स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले भन्नुभयो, “हामीले चाडपर्वसँगै कोरोनाप्रति सजगता अपनाउन जुरुरी छ ।”

स्वास्थ्य कार्यालयले गड्डाचौकीमा सङ्क्रमण देखिएकालाई कम्युनिटी हेल्थ इन्स्टिच्युट ९आइसीएच० को आइसोलेशनमा राख्ने गरिएको बताउनुभयो । “अहिले सात जनामा सङ्क्रमण देखिए पनि आइसोलेशनमा रािखएको छ”, उहाँले भन्नुभयो, “नाकामा आउनेलाई व्यवस्थित रुपमा परीक्षण र खोपको व्यवस्थापनमा खटिएका छौं ।” यता भारतबाट स्वदेश फर्किनेले भने सीमामा घण्टांै लाइन बस्नु पर्दा समस्या भइरहेको गुनासो पोखेका छन् । उनीहरुले स्वास्थ्य सर्तकताका लागि पहल गरिए पनि सहज गर्न माग गरेका छन् । “रातभरी बसको यात्रामा थाकिएको हुन्छ”, भारतको सिमलाबाट आउँदै गरेका दिलबहादुर बुढाले भन्नुभयो, “भारी बोकेर नाकामा लाइन बस्दा निकै सास्ती हुन्छ ।”

स्थानीय प्रशासनले भारतीय नागरिकलाई भने आधार कार्ड, कोराना परीक्षण गरेको कागजात देखाएमात्रै नेपाल प्रवेश गर्न अनुमति दिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ