sunsan

धनगढी,२८ असोज । दशैँको समयमा पनि सोचेजस्तो व्यापार नहुँदा धनगढीका व्यवसायीहरू चिन्तित भएका छन् । नेपालीहरूको सबैभन्दा ठुलो चाडको बेलामा समेत धनगढीका बजारमा चहल–पहल नभएको र सोचेजस्तो व्यापार नहुँदा व्यवसायीहरू चिन्तित देखिएका हुन् ।

चाडपर्वमा किनमेल गर्न सीमावर्ती भारतीय बजार जाने नेपालीहरू बढेसँगै धनगढी बजारको व्यापार घट्न थालेको हो । भारतीय सीमावर्ती वन गाउँमा भने नेपाली ग्राहकको भीड बढेको छ । विगतमा चाडपर्वको समयमा निकै चहल–पहल हुने गरेको धनगढी बजारमा कोरोना महामारीपछि व्यवसाय र बन्द व्यापार फस्टाउन नसकेको व्यापारी मदनकृष्ण भट्टले बताए ।

“विगतमा चाडपर्वको समयमा बजारमा चहलपहल हुन्थ्यो,”उनले भने, “तर यस वर्ष विगतका जस्तो व्यापार हुन सकेको छैन् ।” उनले खुल्ला सिमानाकाको कारण सबै खाले व्यवसाय र व्यापार चौपट भएको गुनासो गरे ।

यस्तै धनगढीमै व्यवसाय गर्दै आएकी रमा भण्डारीले पनि यसबर्ष पहिलेको जस्तो चहल पहल नभएका बताइन् । विगतका चाडपर्वमा हुने व्यापार भन्दा ५० प्रतिशत भन्दा कमीले व्यापार भइरहेको व्यापारी बताउँछन् । धनगढीमा करिब आठ वर्षबाट कपडाको व्यापार गर्दै आएकी शान्ती खत्रीले पनि यस वर्ष सोचे जस्तो व्यापार गर्न नपाएको बताइन् ।

“मैलै यो कपडाको व्यापार गर्दै आएको करिब आठ वर्ष जति हुन लाग्यो,” उनले भनिन्, “विगतका वर्षहरूमा चार्डवार्डका समयमा राम्रै व्यापार भइरहेको थियो । तर यस वर्ष विगतका जस्तो व्यापार हुन सकेन् ।” उनले थोरै रकम सस्तो देखेर सानो सामान किन्न पनि भारत जाने प्रवृत्तिका कारण पनि धनगढीका बजामा खासै व्यापार हुन नसकेको बताइन् ।

कोरोनाको कारण लामो समय बन्द रहेका व्यवसायीहरू दशै तिहारमा पनि सुनसान हुँदा आफूहरूलाई सटर भाडा तिर्न समेत मुस्किल हुने गरेको अर्का व्यापारी भोजराज पन्तले बताए ।

“करिब एक वर्ष लकडाउनका कारण व्यवसाय बन्द भयो । अहिले केही समय भयो सञ्चालनमा आएको । चार्डपर्वमा व्यवसाय फस्टाउला कि ? भनेर सोचेका थियौँ । तर चार्डवाडमा पनि व्यापार हुन सकेन् । अब सटरको भाडा पनि कसरी तिर्ने भन्ने चिन्ता लागेको छ,” उनले भने ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ