टिकापुर कार्तिक ०३ ।कर्णाली नदीको बाढी कैलालीको टीकापुर बजार क्षेत्रमा समेत पसेको छ। नगरपालिकाको वडा नं १ का ब्लक नं ए, बी, सी, ब्लक न १५, १६, १७, १८, २० लगायत क्षेत्रमा बाढी पसेको हो।
बजार क्षेत्रमा पानी पसेकोले पथरैयाबाट नदीले कटान गरेपछि जोखिम उच्च भएको टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावलले बताए।
यस्तै वडा नं २ को विजगनगर क्षेत्रबाट कर्णाली नदी गाउँ पस्दा विजयनगर, शक्तिनगर लगायतका सुकुम्बासी बस्ती डुबानमा परेका छन्।
शाहीपुर क्षेत्रमा भएको कटानले वडा नं ५ को शाहीपुर, बसन्ता, वडा नं ६ को लक्षिनापुर, वडा नं ७ को सत्ती, पदमपुर, वडा नं ८ को पुरै क्षेत्र डुबानमा परेको छ। कटानले हुलाकी राजमार्ग अन्तर्गत सत्ती नजिक झण्डै दुई सय मिटर बढी हुलाकी सडक कटान गरेको छ भने मोहना नदीमा निर्माण गरिएको तटबन्ध समेत भत्काएको छ।